काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको मौसमविदहरूले बताएका छन्। अहिले देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले यतिबेला आइतबार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। अहिले यी प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ। देशका बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी तराईका भूभागमा सामान्यतया मौसम सफा छ।
त्यस्तै आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
त्यसैगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।
महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।