काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभावसँगै बङ्गालको खाडीको उत्तरपूर्व तर्फ रहेको न्यूनचापिय प्रणालीकोसमेत आंशिक प्रभाव देखिएको छ।
जसको प्रभावले यतिबेला शनिबार बिहान कोशी र मधेस प्रदेशको मौसम साधारणतया बदली छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम साधारणतया बदलीको अवस्थामा छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरेको महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति कोसी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।