काठमाडौ । भनिन्छ नि नेपाली राजनीतिमा समकक्षी नेतामा नेकपा एमालेका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली अरूभन्दा भिन्न छन् । उनले नेपाली उखान ‘एक तिर दुई शिकार’ गर्न सक्छन् ।
यही उखानलाई चरितार्थ गर्दै आज फेरी ओलीले केही मन दुखाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेका छन् ।
अन्य राजनीतिक भेटवार्ता र छलफल गरौ भन्दा प्रचण्डले बहाना बनाएर नआउने सुईँको पाएका ओलीले आज नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको ७९ औँ जन्मदिनको अवसर पारेर शुभकामना दिन भनि प्रचण्डलाई बालुवाटार बोलाए । एमाले र ओलीसंग मन दुखाएका प्रचण्ड देउवाको जन्मदिन भनेपछि हार्न सकेनन् र बालुवाटार हान्निए ।
नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्ड आफ्नो म्याजिक नम्बर भन्दै कुनैपनि बेला काङ्ग्रेसको सहयोग चाहिनेमा सचेत छन् । त्यसैले देउवाको जन्मदिनमा बोलाएको कार्यक्रमलाई नकार्नु भनेको आफ्नो भबिष्यमा ताला लाग्नु हो भन्ने उनलाई स्पष्ट थाहा छ । त्यसैले उनी हतारिदै बालुवाटार पुगेका हुन् ।
यसरी बालुवाटारमा जम्मा भएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले भने उपसभामुख इन्दिरा रानामगरलाई हटाउन माओवादीको साथ चाहिएको कुरा अगाडी सारेका थिए। उनीहरूको प्रस्तावमा सहमती जनाउन प्रचण्डले संवैधानिक पदहरुमा आफ्नो भागबण्डा मागेका छन्।
संवैधानिक पदहरुमा आफ्नो मान्छे नियुक्त गर्न सजिलो होस् भनेर प्रतिनिधिसभाकी उपसभामुख रानामगरलाई हटाउन लागिपरेका सत्तारुढ गठबन्धनका दुई शीर्ष नेताहरु ओली र देउवासँग विपक्षी दलका नेता प्रचण्डले भागबण्डा मागेका हुन्।
संवैधानिक पदहरुमा नियुक्ति गर्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा विपक्षी दलका नेता गरी छ सदस्य हुन्छन्।
उपसभामुखमा रानामगरलाई हटाएर आफ्नो मान्छे ल्याउन सके संवैधानिक पदहरुमा ‘आफ्ना’हरुलाई भित्र्याउन सत्तारुढ गठबन्धनलाई सजिलो हुन्छ।
संवैधानिक परिषद्को बैठक शुक्रबार बस्दै छ। दाहालले आफ्नो भागसहित शुक्रबार नै रिक्त रहेका सबै संवैधानिक पदहरुमा नियुक्तिको माग गरेका छन् भने प्रधानमन्त्री ओली र सत्ताका अर्का सहयात्री देउवा भने उपसभामुख रानामगरलाई हटाएपछि बस्ने अर्को बैठकमा मात्र संवैधानिक नियुक्तिको प्रक्रिया अघि बढाउने दाउमा छन्। अहिले संवैधानिक परिषद्मा सत्तारुढ दलहरु अल्पमतमा छन्। राष्ट्रिय सभाका अध्यक्ष माओवादीका छन् भने उपसभामुख रास्वपाबाट। त्यस्तै विपक्षी दलका नेता दाहाल छन्। प्रधानमन्त्री ओली र सभामुख घिमिरे सत्तापक्षका छन्।
नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न न्याय परिषद्ले भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषदमा पठाइसकेको छ। यसबाहेक अन्य संवैधानिक पदहरु पनि नियुक्तिका लागि खालि छन्।
यसरी ओलीले एकतिर दुई शिकार गरेर प्रचण्डलाई बोलाउन त सफल भए तर संवैधानिक पदको भागँबण्डा मिलाएर सभामुख हटाउन कामयाब हुन्छन् हुदैनन् त्यो भने हेर्न बांकी नै छ ।