काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले एमालेका नेता कार्यकर्तालाई नराम्रो गर्ने छुट नभएको बताएका छन् ।
नेकपा एमाले सिन्धुलीको तेस्रो पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै डा.भट्टराईले पार्टीलाई जनस्तरमा बलियो बनाउन सबै लाग्नु पर्ने बताएका हुन् । बाहिर उठेका पार्टी विरुद्धका विभिन्न भ्रमलाई चिर्ने गरी बहस गर्न तयार रहन उनले निर्देशन दिए ।
सरकारमा रहँदा केही नगर्ने, सरकारबाट बाहिरिनासाथ विभिन्न खालका गलत प्रचार गर्ने काम भइरहेको बताउँदै भट्टराईले त्यसका विरुद्ध उभिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । ‘पार्टीमा मोजमस्ती र रमाइलो गर्नेहरू नेतृत्वमा नबस्नुस्, नेतृत्वमा बस्नेहरूले पार्टीको नीति भित्र बसेर काम गर्नुस्’, भट्टराईले भने ।
भट्टराईले एमालेका नेता कार्यकर्ताले सहीलाई सही र गलतलाई गलत ठम्याउन र भन्न सक्नु पर्ने बताए । काठमाडौंमा नदी किनारमा थप २० मिटर जग्गा छाड्नु पर्ने सर्वोच्च अदालतको फैसला गलत भएको भन्दै उनले सरकार त्यसको विरुद्ध पुनरावेदनमा जाने बताएका छन् ।
सर्वोच्च अदालतको फैसला मान्ने हो भने शोभा भगवतीदेखि पशुपति, गोकर्ण, गुहेश्वरी र थापाथली क्षेत्रका सबै मन्दिर संरचना समाप्त हुने उनले बताए । सो फैसलालाई टेकेर अहिले धमिलो पानीमा माछा मार्न खोज्ने केही तत्त्वहरू सलबलाउन खोजेको भए पनि त्यो सफल नहुने उनले प्रष्ट पारेका छन् ।
बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य एवं सिन्धुली जिल्ला इञ्चार्ज मनोजजंग थापा, केन्द्रीय सदस्य गणेश पहाडी, विशमलाल अधिकारी दनुवार, कमलजंग थापा, सुवास देवकोटा, निरु दर्लामी र उमा कोइराला लगायत सहभागी थिए ।
बैठकले जिल्ला कमिटीको वार्षिक कार्ययोजना समेत बनाएको छ ।
सोही कार्यक्रममा भट्टराईले नेकपा समाजवादी सिन्धुलीका उपसचिव रमेश नेपाललाई नेकपा एमालेमा स्वागत गरेका थिए । पार्टीमा समाहित भएपछि बोल्दै नेपालले पार्टी विभाजन गरेर माधव नेपालले गम्भीर गल्ती गरेको बताएका छन् । समाजवादीका सम्पूर्ण नेता कार्यकर्तालाई एमालेमा समाहित हुन पनि उनले अपील गरेका छन् ।
नेकपा एमाले सिन्धुलीका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कर्ण घिसिङले स्वागत गरेका थिए ।