काठमाडौ। नेकपा एमाले र काङ्ग्रेसको सरकार बनेसंगै चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि हानथाप सुरू भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन भर्न भनेको थियो। सोही अनुसार आवेदन दिने अन्तिम दिन भोलि हो ।
आज मंगलवार दिउँसोसम्म फिल्म निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर र संस्कृतिकर्मी राजेशकुमार थापामगरले आवेदन दिएका छन्।
विगतमा झै अन्तिम दिनमा पनि आवेदन आउने सम्भावना रहेको बोर्डका सदस्य सचिवले बताएका छन् ।
उनका अनुसार आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गरिन्छ।
त्यसपछि सिफारिस समितिले बढीमा तीन जनाको नाम सिफारिस गर्ने प्रावधान छ।
समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ। यी तिनैजना आवेदक सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन्।
डिसी जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष समेत हुन्।
एमाले नेतृ समेत रहेकी अभिनेत्री करिश्मा एमालेको साहित्य, कला तथा सांस्कृतिक विभागकी सदस्य हुन्।
त्यसैगरी, राजेशकुमार थापा सांस्कृतिक संस्थानको पूर्व-महाप्रबन्धक तथा एमाले निकट जनसांस्कृतिक महासंघका सदस्य हुन्।
अब भोलिसम्म कति आवेदन पर्ने हुन् र कसले बाजि मार्ने हुन त्यो भने हेर्न बांकी नै छ ।