काठमाडौ । यही साउन १५ गते सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया आज मंगलवार देखि सुरु हुने भएको छ।
सुनुवाई समितिको बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको शङ्कर हलमा दिउँसो सवा १२ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ। संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको हो ।
बैठकले प्रस्तावित राजदूतमाथि उजुरी आह्वान गर्नेछ। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ।
उनीहरूमथि उजुरी मागेपछि समितिमा उजुरी दर्ता हुनेछ। उक्त उजुरीको आधारमा समितिले सुनुवाइ गर्नेछ। गम्भीर उजुरी परेमा उनीहरूलाई समितिले अनुमोदन नगरी (अस्वीकार) पनि गर्न सक्छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमात्र उनीहरू राजदूत नियुक्ति हुनेछन्।
हाल सरकारले नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरेको छ ।
त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शङ्कर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ। प्रस्तावित १८ राजदूतको सूची आइतबार समितिमा सुनुवाइका लागि पुगेको थियो। त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस भएका छन्।