धेरै दल होइन बलिया र निर्णायक दलको आवश्यकता छ : महासचिव पोखरेल

Telecom

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दलहरू बलियो हुनु पर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै पोखरेलले धेरै भन्दा पनि बलिया दल आवश्यक रहेको बताएका हुन् । ‘धेरै दल होइन बलिया र निर्णायक दलको आवश्यकता छ’, पोखरेलले भने ।

सत्ता राजनीतिमा साना-साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता पैदा भएको उनले बताए । देशमा स्थायित्वको लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको पोखरेलले स्पष्ट पारे । लोकतन्त्रको आधारभूत जग तयार गर्न कांग्रेस एमाले एक ठाउँमा उभिनु परेको उनले बताएका छन् ।

कुनै राजनीतिक दलको एकल बहुमतको अवस्था नरहेको र अझ संविधान संशोधन गर्नुपर्दा दुईतिहाई बहुमत आवश्यक पर्ने भएकोले प्रमुख दल नमिले त्यो आवश्यकता पुरा हुन नसक्ने पोखरेलले बताएका छन् । स्थायित्व प्रदान गर्ने आधारलाई केन्द्रमा राखेर दुई ठुला दलको सरकार बनेको पोखरेलले स्पष्ट पारेका छन् ।

मुलुक लगातार आर्थिक संकटमा गएको कारण पनि एमालेले सरकारको नेतृत्व गर्नु परेको उनले बताएका छन् । प्रमुख पार्टी नमिल्दासम्म अहिलेको आर्थिक अवस्थामा सुधार नआउने आवाज उठेपछि त्यसको लागि पनि कांग्रेस एमाले मिल्नु परेको उनको धारणा छ । कतिपयले उद्योगी व्यवसायीको कुरा सुनेर कांग्रेस र एमाले मिलेका भनि टिप्पणी गर्ने गरेको बताउँदै पोखरेलले देश बनाउने सवालमा उनीहरूको कुरा पनि सुनेको स्पष्ट पारेका छन् ।

पोखरेलले कांग्रेस र एमालेको सरकार बनेपछि केही सकारात्मक सुधारका सङ्केत देखिएको बताएका छन् । अहिले पुँजीबजारमा उल्लेख्य सुधार आएको, प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको बताउँदै उनले अझै पनि आर्थिक क्षेत्रमा भने आशातीत सुधार भइनसकेको बताएका छन् । यसलाई सुधार गर्दै लैजानु पर्नेमा पोखरेलले जोड दिए ।

पोखरेलले संवैधानिक र कानुनी क्षेत्रमा देखिएका समस्या सुधारका लागि क्रमशः काम गर्दै जाने बताएका छन् । यसले देशको अवस्थामा थप सुधार हुने उनले विश्वास व्यक्त गरे ।

माओवादीलाई समेत समावेश गरेर राष्ट्रिय सहमतिको सरकार बनाउने सोच कांग्रेस एमालेको भए पनि प्रचण्ड त्यसमा सहमत नभएको उनले बताए । देशलाई स्थिरता दिने गरी संविधान संशोधन गर्दा माओवादी पार्टीको स्थान नहुने डर प्रचण्डलाई रहेको पोखरेलको विश्लेषण छ ।

नेपालको वामपन्थी आन्दोलनमा अब अलग अलग दल आवश्यकता नरहेको उनले बताए । ‘ढिलो चाँडो माओवादी आन्दोलनमा रहेका साथीहरू पनि आउने ठाउँ यही नै हो’, उनले भने ।

adb bank long