पार्टीमा बिद्रोह गरेका मुकुलले प्रधानमन्त्रीलाई बुझाए प्रदेश खारेज सहितका १५ बुँदे सुझाव(पूर्णपाठ)

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र बिद्रोह गरेका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले प्रदेश खारेजसहितका विभिन्न विषयमा १५ बुँदे सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

ढकालले लेखेका छन् ‘मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपशिल बमोजिम सुझावहरू सम्माननीय प्रधानमन्त्रीसामु पेस गर्न चाहन्छु’।

उनले गत जेठ ६ देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए । त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाएर मिडियामा चुहाएको भन्दै उनलाई रास्वपाले स्पष्टीकरण सोध्दै निलम्बन गरेको थियो ।

डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन् । अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि,  सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन् ।

आइटी हबका रूपमा नेपाल चिनाउन, लुम्बिनीमा मायादेवी प्रसूति गृह एवं गौतम बुद्ध शिशु स्याहार अस्पताल निर्माण, वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरूका लागि उद्धार, न्यायालयमा सुधार, कानुन निर्माणमा चुस्तता, संविधान संशोधनका लागि सुझाव प्रस्तुत गरेका छन् ।

त्यस्तै जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद पनि खारेज गर्न सुझाव दिएका छन् । थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न पनि सुझाव दिएका छन् ।

पूर्णपाठको लागि तलको लिंक खोल्नुहोस् :-
https://drive.google.com/file/d/1KGqwhCHVUah6Y2uALpTY2QEvXeWRRZt_/view?usp=drivesdk

adb bank long