डेंगीको संक्रमणबाट २ जनाको मृत्यु, बाह्रै महिना जोखिम

काठमाडौ । गतआबमा २० जनाको ज्यान लिएको डेंगीबाट यसबर्षको सुरूवाती महिनामा नै २ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट  झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो।

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए। त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डंगी संक्रमणबाट मृत्यु भएको उनले पुष्टि गरे।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ। नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ।काठमाडौँ उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनले नेपालमा डेंगी संक्रमण चुनौतिपूर्ण बन्दै गएको बताए।

डा. पुनले अहिले डेंगीको संक्रमण देशका सबैजसो जिल्लामा फैलिइसकेको बताए । पुनका अनुसार केही वर्षअघिसम्म वर्षका दुई तीन महिना मात्रै डेंगी संक्रमण फैलिने गरेको थियो। तर, अहिले बाह्रै महिना डेंगीको जोखिम देखिने गरेको छ।

adb bank long