काठमाडौ । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा श्रद्धालु बक्तजनहरुको भिड लागेको छ ।
साउन महिनालाई भगवान् शिवको प्रिय महिना मानिन्छ । यसरी शिवको प्रिय महिना साउन र प्रिय वार सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
आज श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्छन् । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।