जनार्दनको त्यो आँट, १४ पृष्ठमा उठाए प्रचण्डलाई हटाउने देखि नीति परिवर्तन सम्मको कुरा

काठमाडौ । विभन्न नाम बदल्दै हाल नेकपा माओवादी केन्द्र रहेको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्व सम्हालेको ३० बर्ष भैसक्यो । तरपनि उनी नेतृत्व हस्तान्तरण गर्ने कुरा उठाउन र सुन्न समेत चाहादैनन् । बरू त्यस्ता कुरा उठाउनेलाई उनले अनेक प्रपन्च रचेर साईड लगाई दिन्छन् । चाहे मोहन बैद्यको कुरा होस् या बाबुराम भट्टराईको, माओवादीमा रहदा रामबहादुर थापाको होस् वा कृष्ण महराको ।पछिल्लो पटक यही निसानामा छन् , नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ।

यही साउन २५ गतेदेखि माओवादी केन्द्रको स्थायी समिति बैठक काठमाडौमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा जारी छ । यश बैठकमा अध्यक्ष प्रचण्ड माथी विभिन्न किसिमका प्रश्न तेर्सिएका छन् । जसको सामना गर्न प्रचण्डलाई हम्मेहम्मे पर्नेछ ।

तर पार्टीका उपमहासचिव जनार्दन शर्माले भने अध्यक्ष ‘प्रचण्ड’लाई पार्टी नेतृत्व छाड्न सुझाव दिनुका साथै पार्टीको नीतिसमेत परिवर्तन गर्नुपर्ने कुरा उठाएका छन्। हिजो आइतवारको बैठकमा शर्माले सो कुरा उठाएका हुन् । उनको यो आँटलाई मान्नैपर्छ चाहे पास होस या फेल, चुुनौतीको ढोका खुुलै देखेका उनले यत्तिको आँट गर्नु आन्तरिक परिवर्तनको नयाँ अध्याय भने पक्कै हो ।

शर्माले पार्टी शून्यतर्फ अभिमुख भएको निष्कर्षसहित ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गरेका छन् ।शर्माले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा रही नेतृत्व हस्तान्तरणका विकल्प प्रस्ताव गरेका हुन् ।

शर्माले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने वा तेश्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न सुझाव दिएका छन् ।

नेतृत्व छाडेपछि अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्न सक्ने शर्माको सुझाव छ।

यतिमात्र होइन उपमहासचिव शर्माले प्रचण्डका कार्यशैलीप्रति प्रश्नहरु पनि खडा गरेका छन्। उनले संगठन निर्माणका लागि प्राथमिक विषयमा अहिलेको राजनीतिक उथलपुथल र संघदेखि सबै प्रदेश सरकारबाट माओवादी बाहिनुको जिम्मेवार को हो भन्ने प्रश्न उठाएका छन्। गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउनेजस्ता क्रियाकलापले गर्दा पार्टीलाई पुर्‍याएको लाभहानीबारे पनि मूल्यांकन गरिनुपर्ने उनको माग छ।

शर्माले अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

शर्माले हालको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउनुपर्ने र प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने उल्लेख गरेका छन् ।

हालसम्मको आफ्नो योगदानलाई स्थापित गर्न र बाँकी समय आफ्नो भूमिकालाई सुनिश्चित गर्न उनले वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका आफैँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने विकल्प पनि शर्माले दिएका छन् ।

शान्ति प्रक्रियापछि माओवादी उल्टो बाटो हिँडेको शर्माको आरोप छ । माओवादी केन्द्रमा सामूहिक नेतृत्वको अवधारणालाई संकुचित गर्दै एकलौटी नेतृत्वको अभ्यास गरिएको उपमहासचिव शर्माको ठहर छ । त्यसलाई उनले पार्टीको ‘उल्टो दिशा’ भनेका छन् ।

शर्माले प्रचण्डले पछिल्लो समय भन्ने गरेको समाजवादको नारालाई पनि ‘भूलभूलैया’को संज्ञा दिएका छन् । नव उदारवादी नीति, योजना र त्यसको पृष्ठपोषण गर्ने राज्य संरचना यथावत् राखी समाजवादको नारा लगाउनु आफैँमा भूलभूलैया मात्र भएको उनको ठहर छ ।

शर्माले प्रचण्डको जीवनपद्धतिमा पनि प्रश्न उठाएका छन् । उनको रहनसहन राजामहाराजाको जस्तो भएको तर पार्टी शून्यतर्फ गएको भन्दै उनले गम्भीर सवाल उठाएका छन् । जनमत खुम्चिँदै गएर माओवादी केन्द्र शून्यतर्फ उन्मुख भएको उल्लेख गर्दै शर्माले भनेका छन्, ‘आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ । केही सीमित उपलब्धिबाहेक न कुनै देखाउन लायक कामहरु छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ ।’ सहरी जनमानस त माओवादीप्रति आकर्षित हुनै नसकेको पार्टीका एजेण्डा खोसिँदै जाँदा सो पार्टीलाई माया गर्ने वर्ग, जाति, समुदाय पनि टाढिएको उनको ठहर छ ।

पार्टीमा माथिदेखि तलसम्म परिवारवाद हावी भएका कारण पार्टी कमजोर बन्दै गएको शर्माले जनाएका छन् । पार्टीभित्र फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको, कम्युनिष्ट स्प्रिटअनुसार सामूहिक छलफलको परिपाटी कमजोर हुन पुगेको उनले बताएका छन् ।

उपमहासचिव शर्माको लिखित प्रस्ताव हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

https://drive.google.com/file/d/16zfvLBQi7-jEqkK-3IqrUKsFGo0TsWfX/view?usp=drivesdk

adb bank long