काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेका थिए ।
अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भुपरिवेष्ठित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सवलीकरण, ‘ट्रान्ससिपमेण्ट मोडालिटी’, भण्डारण जाचँपास लगायतका विषयमा जानकारी लिएका छन् ।
नेपालका तर्फबाट पारवहन लागत कमगर्ने विषयमा मन्त्री भण्डारीले राखेको जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दीया र कोलकत्तामा सिधा कार्गोे जहाजको व्यवस्था गरिएकाले सिंगापुरमा गरिने ट्रान्ससिपमेण्ट लागत कम भई सम्पुर्ण लागत नै घट्ने जानकारी दिएका छन् ।
पारवहन लागतको १० प्रतिशत मात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरुले बताएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए । नेपाली महावाणिज्य दुतावास एवं नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको समन्वयमा छलफल भएको थियो ।
अवलोकन भ्रमणमा कोलकत्ता स्थित महावाणिज्य दुतावासका पदाधिकारी लगायतको उपस्थिति थियो । तेस्रोमुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिई कोलकत्ता स्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखि भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिए ।