नेकपा एमालेको जनबर्गिय संगठन युवासंघ नेपाल बागमती प्रदेश अधिवेशन भोलिदेखि भक्तपुरमा सुरू हुदैछ । दुईदिन( साउन २६ र २७) चल्ने भनिएको यो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
भक्तपुरको राधेराधेमा रहेको रोयल ब्याङ्केटमा हुने यस अधिवेशनमा बागमती प्रदेशका १२ जिल्लाबाट ३५० जना प्रतिनिधि सहभागी हुनेछन् ।
युवासंघले ६ वटा प्रदेशमा अधिवेशन सम्पन्न गरिसकेको छ । यो अन्तिम प्रदेश अधिवेशन हो । बागमती प्रदेश नेपालको राजधानी पनि भएको प्रदेश भएकाले यो अधिवेशनले छुट्टै महत्व राख्ने गर्दछ ।
यसै अधिवेशन केन्द्रित रहेर कोसेलीखबर डटकमले युवासंघ नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बलराम बेल्बासेसंग गरेको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
– अधिवेशनको तयारी के कस्तो भईरहेको छ ?
सम्पूर्ण तयारी पूरा भएको जानकारी पाएको छु । टाढाका जिल्लाबाट आउने प्रतिनिधिहरू पनि कति आईसक्नु भएको छ भने कति आउने क्रममा हुनुहुन्छ । समग्रमा सबै तयारी पूरा भईसकेको छ । सानातिना कामहरू साथीहरूले गरिरहनु भएको छ ।
–तपाईँ संगठनको केन्द्रीय निर्वाचन आयोग अध्यक्ष नेतृत्व चयन सर्वसम्मतबाट हुन्छ कि निर्वाचनबाट, के छ तयारी ?
हामीले यसअघि सम्पन्न गरेका ६ वटै प्रदेशमा सर्बसम्मतरूपमा नेतृत्व चयन गरेका छौ । त्यसैले बागमतीमा पनि हामी सर्वसम्मतको प्रयासमा नै छौ । यहाँ योग्य आकांक्षी साथीहरू धेरै हुनुहुन्छ, तरपनि हाम्रो प्रयास सर्वसम्मतकै हुनेछ र हुन्छ पनि ।
– अहिले पहिलाजस्तो युवाहरू संगठनमा आकर्षित भएको पाईँदैन , तपाईको भनाई के छ ?
हैनहैन त्यस्तो पटक्कै होईन । युवा साथीहरू अहिले पनि उत्तिकै सक्रियताका साथ संगठनमा जोडिनु भएको छ । पछिल्लो समय युवाहरू पढ्न र रोजगारीका लागि अलि बढी बिदेशिएकाले केही त्यस्तो तपाईंहरूलाई परेको हो । तर बाहिरबाट देखेजस्तो छैन । संगठनमा दिनप्रतिदिन युवाहरूको आगमन भईरहेको छ ।
-युवासंघका कार्यक्रम अहिले प्राय शुन्य छन्, तपाईँहरूले इस्यु नपाउनु भएको हो कि उठाउन नसक्नु भएको हो?
युवासंघ स्थापना कालदेखि नै युवाहरूका मुद्धाका साथसाथै समाजमा व्याप्त अन्याय, अत्याचार, कुरिति, असमानता, भ्रष्टाचार जस्ता बिषयमा आवाज बुलन्द गर्दै सरकारलाई घचघच्याउदै समाज रूपान्तरणमा योगदान गर्दै आएको सर्वबिदितै ।
केहीसमय पहिले माओवादीको कथीत जनयुद्धले जनतालाई, बिशेषगरी युवाहरूलाई अनेक प्रकारका दुखदिने (जस्तै आर्थिक, मानसिक, शारिरीक आदी) खालका गतिविधि गरेको थियो । पछिसम्म पनि त्यसको केही अबशेषहरू थिए हामी लड्यौ । त्यसलाई निस्तेज पार्न युवासंघ टाउकोमा कफन बाधेर ज्यानको प्रवाह नगरेर लड्यो। अहिले परिस्थिती फरक भएको छ । अहिले त्यस किसिमका गतिबिधि समाप्त भएका छन् ।त्यसैले आम जनतामा युवासंघका कार्यक्रम शुन्य भए भन्ने परेको होला । तर हामी राज्यलाई दिनुपर्ने ठाउँमा रचनात्मक सुझाव र सहयोग गरेर हुन्छ कि दबाब सिर्जना गरेर हुन्छ आफ्ना एजेण्डा स्थापित गरिरहेका छौ ।
– अन्त्यमा हिजो र आजको युवासंघको नेतृत्व र कार्ययोजनामा फरक के छ ?
मैले अघिपनि भनिसके हिजो फरक खालको परिस्थिती थियो त्यसैले युवासंघले त्यो परिस्थितीलाई निष्तेज गर्न त्यही खालका गतिबिधि गर्नु पर्ने थियो र गर्यो । अहिले परिस्थिती फरक भएको छ । हामी देश र जनतालाई अप्ठ्यारो पर्दा जहिले पनि उपस्थित छौ । चाहे ०७२ सालको भूकम्पमा होस् ,चाहे जाजरकोटको भूकम्पमा । बाढिपहिरोको पिडामा होस्,युवासंघ नेपाल आम जनता र युवा साथीहरूको हकहित र दुखमा संगै छ ।