काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशमा दलहरू उभिनु पर्ने बताएका छन् ।
नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटी पर्यटन व्यवसाय विशेष इलाका कमिटीद्वारा बुधबार आयोजित पार्टी प्रवेश प्रशिक्षण, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले जनादेशमा उभिन नसक्ने हो भने फेरि जनताको बिचमा जानु पर्ने बताएका छन् । पोखरेलले जनताले कुनै पनि हालतमा विभाजन नस्विकार्ने बताउँदै एमाले बनाउने नै म हुँ भन्ने माधव नेपाललाई गएको निर्वाचनमा देखाइदिएको बताएका हुन् ।
प्रचण्डले राष्ट्रिय सहमतिको नाममा फेरि माधव नेपाललाई बोकेर एमालेलाई एक्लाउन खोजेपछि कांग्रेस एमालेको समीकरण बनेको पोखरेलले प्रष्ट पारेका छन् । साना दलले मुलुकलाई आफ्नो स्वार्थको लागि नचाउने परिपाटी सधैँका लागि अन्त्य गर्नुपर्छ भन्ने मान्यताका आधारमा राजनीतिक स्थायित्व सुनिश्चितताका लागि आवश्यकता पर्दछ भने संविधान पनि संशोधन गर्ने, कानुन संशोधन गर्ने, साना दलको सौदाबाजीबाट मुलुकको राजनीतिलाई मुक्त गर्ने अठोटका साथ हामीले सहकार्य सुरु गरेका छौँ, यसबाट व्यावसायिक क्षेत्रमा उत्साहित वातावरण सिर्जना भएको छ, मानिसको मनोबल बढेको छ’, उनले भने ।
अहिले मुलुकका हरेक क्षेत्रमा निराशा फैलाउने प्रयत्न भइरहेको पोखरेलले बताए । आशाले मानिसलाई अघि बढाउने र निराशाले समाप्त पार्ने उनको धारणा छ, ‘निराशा भनेको पतनको कारण हो’, उनले भने ।
पोखरेलले कांग्रेस र एमाले साना दलले मुलुकलाई बन्धक बनाएका कारण देशलाई त्यसबाट मुक्त गर्न मिलेको दोहोराएका छन् । देशमा स्थिरता र स्थायित्व दिन, संविधान संशोधन गर्न, निराशा चिर्न र देशलाई निकास दिन कांग्रेस एमाले मिलेको उनले स्पष्ट पारेका छन् ।
एमाले र कांग्रेस अहिले मिलेका भए पनि दुई प्रतिस्पर्धी पार्टी भएकोमा कुनै द्विविधा नभएको पोखरेलले बताए । ‘भविष्यको यात्राका सन्दर्भमा हामी दुईवटा पार्टी लामो यात्राका प्रतिस्पर्धी हौँ’ उनले भने ।
प्रचारवादले कुनै पनि समस्याको निकास दिन नसक्ने बताउँदै पोखरेलले कुनै पनि समस्याको समाधान नीतिगत र वैचारिक हिसाबले खोज्नु पर्ने बताएका छन् । त्यसो नगर्दासम्म मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान नसकिने पोखरेलले धारणा राखेका छन् ।
उनले बङ्गलादेशमा भएको घटनाबाट उद्वेलित नहुन पनि आग्रह गरेका छन् । बङ्गलादेशमा अहिले भएको घटनाले कुनै निकास दिन नसक्ने पोखरेलले स्पष्ट पारेका छन् ।
नेपालमा अहिले निराशा होइन आशाको अवस्था रहेको पोखरेलले बताएका छन् । जे चिजले अघि बढ्न सहयोग पुग्छ त्यही चिज नेपालमा रहेकोले भविष्य प्रति आशावादी हुने प्रशस्त ठाउँ रहेको उनको भनाई छ । ‘मुलुकको समृद्धि आशाबाटै सुरु हुन्छ, निराशाबाट होइन, त्यस कारण हामी आशा जगाउने अभियानमा छौँ’, उनले भने ।
पोखरेलले नेपालको पर्यटन क्षेत्रको भविष्य अति राम्रो भएको बताउँदै त्यसको लागि सबै क्षेत्रको समानुपातिक विकास आवश्यक रहेको बताएका छन् । आर्थिक, सामाजिक क्षेत्रको विकास नभई पर्यटन क्षेत्रको मात्रै विकास हुन सक्दैन भन्ने कुरा बिर्सन नहुने पोखरेलले प्रष्ट पारे ।