हसिनाको बहिर्गमनसंगै जियाको रिहाई, तानाशाह ढाल्न एकजुट यी दुईबिच कसरी बढ्यो दुस्मनी ?

काठमाडौ । भनिन्छ नि एउटा नबिग्रीकन अर्को सप्रिदैन । हो त्यस्तै भएको छ, सोमवार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर बारततिर भागेसंगै पूर्व प्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ।

दुई महिला(शेख हसिना र खालिदा जिया)बीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिमहरूको बाहुल्यता रहेको बंगलादेशमा दशकौँदेखि राजनीतिलाई अस्थिर गरिरहेको छ । अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचार कसुरमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो।

जियालाई उनकी कट्टर शत्रु शेख हसिनाले देश छाडेसंगै रिया गरिएको हो । हसिनाको घरमा प्रदर्शनकारीले आक्रमण गरि उनलाई भाग्न बाध्य बनाएपछि उनले मुलुक छाडेर भागेकी छन्।

छ्यहत्तर वर्षीया हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो। सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो। जिया बंगलादेशको प्रमुख विपक्षी बंगलादेश नेसनल पार्टी (बीएनपी) की अध्यक्ष हुन्।

जियाको स्वास्थ्य अवस्था खराब छ। उनी गठिया रोग, मधुमेह र कलेजो सिरोसिसको बिरामी छन् । उनले ह्विलचेयर प्रयोग गर्छिन्।

के हो हसिना र जियाको लडाईँ ?

जिया र हसिनाबीचको दुश्मनीलाई बंगलादेशमा ‘बेगमहरूको लडाइँ’ को नामले जानिन्छ। ‘बेगम’ दक्षिण एसियामा शक्तिशाली महिलाहरूका लागि मुस्लिम सम्मान हो।

उनीहरूबीचको झगडाको जरा सन् १९७५ को सैन्य विद्रोहमा हसिनाका पिता तथा मुलुकका संस्थापक नेता शेख मुजिबुर रहमान, उनकी आमा, तीन भाइ र अन्य आफन्तहरूको हत्यासँग जोडिएको छ।

त्यसबेला जियाका श्रीमान् जियाउर रहमान उपसेना प्रमुख थिए र तीन महिनापछि उनले प्रभावकारी रूपमा सत्ता हातमा लिएका थिए।

रहमानले गरिबीले ग्रस्त बंगलादेशमा निजीकरणका साथ आर्थिक सुधारको प्रारम्भ गरेका थिए तर सन् १९८१ मा अर्को सैन्य विद्रोहमा उनको हत्या गरियो।

उक्त समयमा दुई जवान छोराकी ३५ वर्षीया विधवा जियालाई बीएनपीको जिम्मेवारी प्राप्त भयो। आलोचकहरूले राजनीतिक रूपमा अनुभवहीन गृहिणीका रूपमा उनको जिम्मेवारीलाई खारेज गरेका थिए।

जियाले तानाशाह हुसेन मोमम्मद एर्शादविरुद्ध विरोध प्रदर्शनको नेतृत्व गरिन् र सन् १९८६ मा नक्कली निर्वाचनको बहिष्कार गर्दै सडकमा विरोध प्रदर्शन गरिन्।

उनी र हसिना सन् १९९० मा विरोध प्रदर्शनको लहरमा एर्शादलाई सत्ताच्यूत गर्न एकजुट भए र त्यसपछि  बंगलादेशको पहिलो स्वतन्त्र निर्वाचनमा उनीहरू आमनेसामने भए।

जियाले सन् १९९१ देखि सन् १९९६ सम्म निर्वाचन जितिन् र सरकारको नेतृत्व गरिन्। त्यसपछि सन् २००१ देखि सन् २००६ सम्म सत्ता सम्हालिन्। उनी र हसिनाले पटकपटक सत्ताको नेतृत्व गरिन्।

कसरी बढ्यो दुस्मनी ?

सन् २००७ को राजनीतिक सङ्कटका लागि उनीहरूबीचको आपसी वैमनस्यलाई दोषी मानिएको थियो।

यसबाट सेनालाई आपत्‌कालीन शासन लागू गर्न र कार्यवाहक सरकार गठन गर्न प्रेरित गरेको थियो। दुवैलाई एक वर्षभन्दा बढी समयसम्म हिरासतमा राखिएको थियो।

हसिनाले सन् २००८ डिसेम्बरमा भारी मतका साथ निर्वाचन जितिन् र सोमबार हेलिकप्टरबाट भारत पलायन हुनुअघिसम्म निर्वाध सरकारको नेतृत्व गरिन्।

उनले  बिपक्षी दल(बीएनपी)का हजारौँ सदस्यलाई पक्राउ गरेर सत्तामाथिको नियन्त्रणलाई बलियो बनाएकी थिइन्। हसिनाकै निर्देशनमा सयौँ मानिस बेपत्तासमेत भएका छन्।

हसिनाले सत्ताको आडमा जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा दोषी ठहर गरियो र कारागार पठाइयो। यसलाई उनको पार्टीले राजनीतिक रूपमा प्रतिशोध साधेको भन्दै खारेज गर्‍यो।
पछि राजनीतिमा भाग नलिने र उपचारका लागि विदेश नजाने सर्तमा उनलाई घरमै नरबन्दमा राखिएको थियो।

जिया कारागारमा हुँदा उनका जेठो छोरा तारिक रहमानले लन्डनमा निर्वासनबाट बीएनपीको नेतृत्व गरे तर सन् २००४ मा हसिनाको र्‍यालीमा भएको बम हमलामा कथित भूमिकाका लागि उनलाई उनको अनुपस्थितिमा दोषी ठहर गरियो र आजीवन कारागारको सजाय सुनाइयो।

adb bank long