काठमाडौ । नेपाली काङ्ग्रेसका सांसद समेत रहेका मेडिकल कलेज संचालक डा. सुनिल शर्माले शैक्षिक प्रमाणपत्र किर्ते आरोपमा उन्मुक्ति पाएका छन् ।
जिल्ला र उच्च सरकारी वकिल कार्यालयले शर्माका पक्षमा गरेको मुद्दा नचलाउने निर्णय महान्यायाधिवक्ता कार्यालयले पनि सदर गरेको छ । योसंगै अब शर्माबिरूद्ध उक्त शैक्षिक प्रमाणपत्र किर्ते सम्बन्धी मुद्धा नचल्ने भएको हो ।
नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले जिल्ला र उच्च सरकारी वकिल कार्यालयले गरेको निर्णय सदर गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत वर्ष शर्मालाई पक्राउ गरेको थियो, तर अदालतले उनलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।
त्यसपछि सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेको थियो । उच्च सरकारी वकिल कार्यालयले पनि जिल्लाको निर्णय सदर गरी फाइल महान्यायाधिवक्ता कार्यालयमा पठाएको थियो ।