काठमाडौ । काठमाडौको ढल्को, पोडेटोलमा छिमेकीहरूबीचको बिवादले झडपको रूपलिंदा एकजनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका–१७, ढल्को, पोडेटोलस्थित २ नम्बर गल्लीमा बुधवार छिमेकी–छिमेकीबीच भएको झडपमा खुकुरी प्रहारबाट ३३ वर्षीय अनित पुजारीको ज्यान गएको घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
झडपमा परी अन्दाजी बर्ष ५४ को किरण पुजारी, वर्ष ४९ को दिनेश पुजारी, वर्ष ४२ को माया पुजारी, वर्ष ३९ को विक्रम पुजारी। र वर्ष २३ को अमृत पुजारी घाइते भएका छन्।घाइतेहरूको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी वर्ष १९ को सुजल देउला, वर्ष ३५ को अमृत पुजारी, वर्ष ३४ को सागर देउला, वर्ष ४६ को रबिन्द्र पोडे, वर्ष २९ की कलेनी पुजारी, वर्ष ३५ की टिकामाया पुजारी र वर्ष २२ की सञ्जाली पुजारी रहेका छन्।
धारिलो हतियार खुकुरीसहित प्रहरी बृत्त लैनचौर को नियन्त्रणमा रहेका उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरबाट आवश्यक अनुसन्धान तथा छानबिन कार्य जारी रहेको प्रहरीले जनाएको छ।