अबिरल बर्षाका कारण कीर्तिपुर र ललितपुरमा आएको बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार

काठमाडौ । गएराती परेको अबिरल बर्षाका कारण कीर्तिपुर र ललितपुरका विभिन्न ठाउँमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार गरिएको छ ।

कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीको टोली बुधबार बिहान ५ बजेदेखि परिचालन भएको थियो । ट्युब र डोरीको सहायताले १५ जनाको उद्धार गरेक जनाईएको छ ।

यस्तै ललितपुरका बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धारका लागि  बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरिएको थियो।

उद्धारमा खटिएको टोलीले अहिलेसम्म २४ जनाको उद्धार भएको छ । ३ जना बालक, ८ जना महिला र १३ जना पुरूषको विभिन्न ठाउँबाट उद्धार गरेको  छ र अझैपनि उद्धारको काम भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

ललितपुरको मनहरा खोलामा आएको बाढी ललितपुर महानगरपालिका–९ बालकुमारी च्यासलस्थित एमाले पार्टी कार्यालय र च्यासल फुटबल ग्राउण्डमा पसेको छ भने करिडोर क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर ९ शंखमुल, वडा १ कुपन्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथली लगायतका क्षेत्रमा बाढी पसेको छ ।

त्यसैगरी अविरल वर्षाका कारण गएको पहिरोले बागमती  गाउँपालिका–३ पाङ्दुरडोल  र टार्कुचेमा पहिरो खस्दा कान्ती लोकमार्ग पुर्ण अवरूद्ध  भएको छ।  त्यस्तै महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो जाँदा काभ्रे जाने बाटो अवरूद्ध भएको छ ।

गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्ममा बाढी पस्दा ४ सय कुखुरा मरेका छन् । वर्षाकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेका कारण सडक अवरूद्ध भएको छ । त्यहाँ पिपलको रूख डोजर लगाएर हटाउने काम भइरहेको जानकारी प्राप्त भएको छ ।

प्रोटोन एजुकेसन
adb bank long