५ देशका राजदुत फिर्ता बोलाउँदै १८ देशमा नयाँ नियुक्त, पूर्वमन्त्री डा.तुम्बाहाम्फे बनिन् दक्षिण कोरियाको राजदुत (अरू को-कहाँँ)

काठमाडौ । सरकारले ५ देशका राजदुत फिर्ता बोलाउने निर्णयसंगै १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । यसपटकको सिफारिसमा पूर्व कानुनमन्त्री समेत रहेकी डा. शिवमााया तुम्बाहाम्फे पनि परेकी छन् ।

सोमवार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो । उनीहरूलाई फिर्ता बोलाउने निर्णयसंगै एकैपटक १८ देशको राजदूत नियुक्तिका लागि सिफारिश गर्ने निर्णय लिएको हो।

बैठकले यसअघी नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि कैलाशराज पोखरेललाई फिर्ता बोलाएको छ । यसैगरी श्रीलंकाका लागि राजदूत बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले भारतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय गरेको छ भने अमेरिकामा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिश गरेको छ । बैठकले भारत, चीन, अमेरिका, बेलायत, रुस, दक्षिण कोरिया, कतार, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, अष्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनीका लागि नयाँ राजदूत सिफारिस गर्ने निर्णय लिएको हो ।

भारतका लागि यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाएको शंकर शर्मालाई नै निरन्तरता दिने निर्णय भएको हो ।

प्रचण्ड सरकारले जेठ २४ गते शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाएको थियो । यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस भएका छन् । बेलायतका लागि नेपाली राजदूत भइसकेका रेग्मीलाई प्रचण्ड सरकारले एमालेको कोटामा भारतका लागि राजदूत सिफारिस गरेको थियो । तर नयाँ गठबन्धनमा भएको भागबण्डामा भारत कांग्रेसले लिएपछि रेग्मी अमेरिका पुग्न भएका हुन् ।

यसैगरी पूर्वसचिव चन्द्र घिमिरेलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ । प्रचण्ड सरकारले उनलाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । तर राजदूत सिफारिसको निर्णय कार्यान्वयन नहुँदै सरकार फेरिएपछि उनी राजदूत भएर जाने देश पनि फेरिएको हो । यसैगरी चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली, दक्षिण कोरियाका लागि पूर्वमन्त्री तथा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र मलेसियाका लागि नेपाली राजदूतमा डा. नेत्र तिमल्सिना सिफारिस भएका छन् ।

डा. तिमल्सिना यसअघि पनि मलेसियाका लागि नै राजदूत सिफारिस भएका थिए । यस्तै सनिल नेपाल पनि राजदूत सिफारिस भएका छन् । प्रचण्ड सरकारले पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेर उनको नाम सिफारिस गरेको थियो । नियुक्त प्रक्रिया पूरा गरेर पोर्चुगल जाने तयारीमा रहेका बेला प्रचण्ड सरकारले ११ राजदूत फिर्ता बोलाउँदा उनी पनि परेका थिए ।

प्रोटोन एजुकेसन
adb bank long