काठमाडौ । एमाले २७ र काङ्ग्रेसका ३७ सांसदको समर्थनमा गत साउन ८ गते बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नकाङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले पर्सि १५ गते मंगलबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको एकसाता नबित्दै लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् । नियुक्त भएको ३० दिनभित्र बिश्वासको मत लिनुपर्ने संबैधानिक ब्याबस्था रहेको छ ।
साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले बताएको छ ।
मुख्यमन्त्री लामाले बागमतीको १४ सदस्यीय मन्त्रीपरिषदलाई गत शुक्रवार पूर्णता समेत दिइसकेका छन् । जसमा काङ्ग्रेसका ७ र एमालेका छ मन्त्री रहेका छन् ।
कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाँउमा भएकाले स्पष्ट बहुमत रहेको छ ।
बागमतीमा नेपाली काङ्ग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, सभामुखसहित राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद रहेका छन् ।