क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सर्बोच्च नजाने भन्दै गौशाला-२६ ले दिईन निवेदन

Telecom

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्बोच्च नजाने भन्दै गौशाला–२६ ले उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छन्।

उच्च अदालत पाटनले गत जेठ २ गते सन्दीपलाई जिल्ला अदालत काठमाडौको फैसला पूर्णरूपमा उल्टाउदै सफाई दिएको थियो । उक्त फैसला बिरूद्ध  सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी अधिकार भएपनि गौशाला–२६ ले गत शुक्रबार पाटन सरकारी वकिल कार्यालयमा आफु सन्दीपविरूद्धको मुद्धामा सर्बोच्चमा पुनरावेदन नगर्ने भन्दै निवेदन दिएकी हुन्। उच्च सरकारी वकिल कार्यालय स्रोतले यो कुरा पुष्टि गरेको छ।

‘उहाँको निवेदन कार्यालयमा प्राप्त भएको छ । उहाँले त्यस्तो निवेदन दिन पाउँछ,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो,‘तर मुद्दाका प्रक्रिया त्यत्तिले मात्र रोकिने भन्ने हुन्न।’ यो सरकार वादी रहेको मुद्दा भएकाले पुनरावेदन गर्ने वा नगर्ने भन्ने निर्णय गौशाला–२६ को निवेदनले मात्र निर्क्योल ननिस्कने वकिल कार्यालय स्रोतले बतायो।

जिल्ला अदालतले सन्दिपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला गरेको थियो ।

५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको भन्दै १६ दिनपछि लामिछानेविरुद्ध पीडित (गौशाला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् । बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमासंगै बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् ।

उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी गर्‍यो । २० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले २९ पुसमा २० लाख धरौटीमा छाड्यो ।

त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेलेका थिए।

जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् । लामो सुनुवाइ प्रक्रिया पूरा गरेपछि जिल्ला अदालतले १३ पुस २०८० मा सन्दीपलाई दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दीप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट सन्दीप दोषी देखिएको निष्कर्ष निकालेको थियो ।

नगरकोट गएकोदेखि सिनामंगलको होटलमा एउटै कोठामा बसेको स्वीकार गरेका सन्दीपले बलात्कार आरोप भने अस्वीकार गरेका थिए । पीडितले आफूमाथि बलात्कार भएको भनेको र त्यो दिन सन्दीपको क्रियाकलाप समेतलाई विचार गर्दा उनी र गौशाला २६ का बीचमा करणी भएको देखिएको भन्दै जिल्ला अदालतले त्यसलाई सहमतिको भन्न नमिल्ने निष्कर्ष निकालेको थियो ।

यद्यपि न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने राय लेखेका थिए । घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै उनले नाबालिका बलात्कार भने स्वीकार गरेनन् ।

आरोपपत्रमा पीडित १६ वर्षभन्दा माथि, तर १८ वर्षभन्दा मुनिको किशोरी भएकाले १० वर्षदेखि १२ वर्षसम्मको सजाय हुनुपर्ने माग दाबी थियो । न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई ८ वर्ष जेल सजाय सुनायो ।

पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश दिएको थियो । त्यसविरुद्ध सन्दीपले हालेको पुनरावेदनमा उच्च अदालतले सफाइ दिएको थियो ।

adb bank long