काठमाडौ । नेकपा एमालेका २७ सांसद सहितको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री बनेका नेपाली काङ्ग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
बिहीबार उनले नेपाली कांग्रेसको भागमा परेका ४ जना मन्त्री नियुक्त गरि मन्त्रीपरिषदलाई पूर्णता दिएका छन्। १४ सदस्यीय बागमतीको मन्त्रीपरिषदमा मुख्यमन्त्री लामाले बिहीवार मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङलाई नियुक्त गरेका छन्।
नव नियुक्त मन्त्रीहरूको बिहीवार नै मन्त्रालयसमेत तोकिएको छ। जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र प्रभातलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यसअघि नेपाली काङ्ग्रेसबाट मन्त्रीमा नियुक्त भई बुधबार सपथ लिइसकेका कांग्रेसकै ३ जनामध्ये २ जनालाई मन्त्रालयको जिम्मेवारी दिइए पनि एक जनाको भने मन्त्रालय अझै टुंगो लागेको छैन।
जसमध्ये कुन्दनराज काफ्लेलाई सामाजिक विकास मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सुम्पिँदा मदुकुमार श्रेष्ठको मन्त्रालय तोकिएको छैन।
यता नेकपा एमालेका तर्फबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रेम भक्त महर्जन श्रम रोजगार तथा यातायात मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, किरणले थापा स्वास्थ्य मन्त्रालय र सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।