विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाईने

काठमाडौ । बुधवार भएको सौर्य एयरलाइन्सकोविमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा आज बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

जहाज दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ ।

नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ । जहाजका क्याप्टेन मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । घाइते भएर केएमसी अस्पताल सिनामंगलमा उपचाररत उनी खतरामुक्त रहेका छन् ।

बैठकले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि ब्यक्त गर्दै उपचाररत शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको थियो ।

सरकारले राष्ट्रिय शोक मानेका बेला देशभरका सरकारी कार्यालय र बिदेशस्थित कुटनितिक नियोग तथा दुतावासको कार्यालयमा आधा/पुरै झण्डा झुकाउने चलन छ ।

adb bank long