काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गए राति सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर १ रतनपुरस्थित आफ्नै निवास ८० वर्षीय रायको हत्या भएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनी मृत भेटिएका हुन् ।
अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख डीआईजी यज्ञ विनोद पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन,’ अनुसन्धानमा संलग्न डीएसपीले भने, ‘तालिम प्राप्त कुकुरसहितको टोली प्रदेश प्रहरी कार्यालयबाट पनि आएको छ । हामी घटनास्थलमै छौं । थप अनुसन्धान हुँदैछ ।’
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ । राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनी अहिले पनि राप्रपामै आवद्ध रहेको स्थानीयले बताएका छन् ।
रायका पत्नी र छोरा–बुहारी काठमाडौँमा बस्ने गरेको स्थानीयले बताएका छन् । राय पनि केही दिनअघि मात्रै घरमा आएको बुझिएको छ । हत्याको कारण भने अहिलेसम्म खुलेको छैन । घरमा एक जना कामदार र उनी मात्रै बस्ने गरेको पाइएको छ ।