काठमाडौ । गत असार १७ गते मध्यराति भएको काङ्ग्रेस र एमालेको सहमती अनुसार बिकसित पछिल्लो राजनीतिक घटनाबाट प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ भन्दा बढी सांसदको विश्वासको मत प्राप्त गरेका छन्।
गत असार ३१ गते संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज आइतबार ७६ (४) अनुसार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका छन् भने विपक्षमा ७४ सांसदले मतदान गरे। दुईतिहाईको लागि १८४ सांसदको मत आबश्यक पर्दछ ।
सभामुख देवराज घिमिरेले दिएको जानकारी अनुसार, आइतबारको प्रतिनिधि सभा बैठकमा २६३ सांसद उपस्थित थिए। उपस्थितमध्ये ओलीलाई १८८ सांसदले विश्वासको मत दिएका छन्। एक जना सांसद भने तटस्थ बसेका छन्।
काङ्ग्रेस र एमालेबीच भएको सहमती अनुसार, ओलीले पहिले दुई वर्ष र त्यसपछि ०८४ को निर्वाचनसम्मका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन्।
सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने सङ्ख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।