काठमाडौ । आज असार शुल्क एकादशी जसलाई हरिशयनी एकादशी भनिन्छ । आम हिन्दुहरूले आजको दिनलाई तुलसी रोप्ने एकादशी भनेर सजिलै बुझ्ने गर्दछन् । आज निर्जला एकादशीका दिन बीउ रोपेको तुलसीको बिरूवालाई मठमा सार्ने अर्थात् रोप्ने गरिन्छ ।
हिन्दु धर्म शास्त्रमा तुलसीलाई भगवान् बिष्णुको रुपमा लिने गरिन्छ । त्यसैले आज बिष्णु भगवानका मठ मन्दिरमा विशेष पुजा गर्ने गर्दछन्। आज काठमाडौका बुढानिलकण्ठ, इचंगु नारायण, बिशंखु नारायण, चांगुनारायण, शेषनारायण लगायतका मन्दिरमा दर्शनार्थीको घुइचो लाग्ने गर्दछ ।
हिन्दु धर्मशास्त्र अनुसार आजवाट चार महिनासम्म अर्थात् हरिबोधनी एकादशीसम्म भगवान् बिष्णु नारायण चीर निद्रामा जाने (सुत्ने) हुँदा यो अबधीलाई चतुर्माश भन्ने गरिन्छ । यो चतुर्माशमा कुनैपनि शुभकार्य (विबाह, ब्रतबन्ध पुजाआजा आदी) गर्नु राम्रो मानिदैन । यही चार महिनामा हिन्दुहरूका अधिकांश चाडपर्ब पर्ने गर्दछन् ।नागपञ्चमी, जनैपूर्णिमा, हरितालिका तीज, ऋषीपञ्चमी, दशै, तिहार जस्ता सबैजसो पर्वहरू यही चतुर्माशमा पर्दछन् ।
यिनै पर्वहरूमा गरिने र यी चार महिना भित्र गर्ने सबै ब्रतहरूलाई चतुर्माश व्रत भनिन्छ । चतुर्माश व्रत बस्नेहरूको मनोकांक्षा पूरा हुने धार्मिक बिश्वास रहिआएकोछ । भगवान बिष्णु नारायणले आफु निद्रामा जाने हुँदा यी चार महिनालाई आफ्नो कार्यभार भगवान शिबलाई दिनुहुन्छ भन्ने बिश्वास छ । त्यसैले यी चार महिनामा धेरैजसो भगवान् शिवको पुजा गर्ने गरिन्छ ।
हरिशयनी एकादशीलाई लिएर थुप्रै किंबदन्तीहरू रहेको पाईन्छ ।तीमध्ये यो किंबदन्ती अधिक प्रचलनमा रहेको पाइन्छ । – प्राचीन समयमा कुनै एक देशमा एकजना मन्दाता नाम गरेका राजाले राज्य गर्दथे । उनको राज्य अन्य राज्यको तुलनामा सम्पन्न थियो । आफ्नो राज्य सम्पन्न भएको माथ ती राजामा बिस्तारै चढेको थियो । जसका कारण उनले जानीनजानी केहीपाप कर्महरू गर्न पुगेका थिए । राजाको पापका कारण सो राज्यमा ३ बर्षदेखि वर्षा भएन, जसकारण अधिकांश खोलानाला सुके, रूखबिरूवा सुके राज्य झण्डै मरूभूमिमा परिणत हुने अबस्था आउन थाल्यो ।अधिकांश पशुपंक्षी र जिबजन्तुको मृत्यु भयो । यस्तो अबस्था कसरी आयो भनेर राजा चिन्तिन हुनपुगे र एकजना ज्ञानी महात्मा कहाँ गएर यो सबै कुरा बेलिबिस्तार लगाए । त्यसपछि ती महात्माले हरिशयनी एकादशीको ब्रतबिधी गरि बर्षाका देवता नारायण (ईन्द्र) को पुजा गर्ने सल्लाहा दिए । सोही अनुसार राजाले पुजाआजा गरेपछि वर्षा भएर राज्यमा खुसीयाली छाएको थियो ।
धार्मिक रूपमा यतिधेरै महत्व रहेको तुलसी बैज्ञानिकरूपमा पनि निकै उपयोगी साबित भएको छ । तुलसीलाई सबैभन्दा बढी अक्सिजनको स्रोतको रूपमा लिइन्छ । यसको दैनिक सेवनले ज्वरो रूघाखोकी लगायतका अधिकांश रोगहरूबाट छुट्कारा मिल्दछ।
यसरी बहुगुणी तुलसीलाई आज रोपौं स्वस्थ रहौं। जिवनलाई फलदायी बनाऔं ।