२९ गते भारतले धौलीगङ्गा बाध खोल्ने, महाकाली आसपासका बस्तीमा जोखिम बढ्ने

Telecom

बैतडी। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध दोस्रोपटक खोलिने भएको छ।  संभावित जोखिम र क्षति कम गर्ने उद्धेश्यले एनएचपिसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई  सुरक्षित रहन आग्रह गर्दै पत्र पठाएको छ ।

प्राप्त पत्रअनुसार यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाइएको छ। पत्रमा बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको पत्रमा उल्लेख छ ।

बाँध खोलेका बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। बाँध खोलिएपश्चात् महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी वारपार नगर्न आग्रह गरिएको छ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको हो। यसबाट महाकाली नदी आसपासका बस्ती जोखिममा पर्ने बुझिएको छ ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातका बेला हरेक वर्ष खोलिने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ। यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो। वि.सं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलिँदा दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौंको क्षति भएको थियो।

adb bank long