काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार परिमार्जन गर्दै जानुपर्ने बताउनुभएको छ ।
बुधबार पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको बताउनुभयो । तर संविधानका यी धार र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको उहाँले प्रष्ट पार्नुभयो । संविधान संशोधनको लागि कसैको नेतृत्वमा आयोग बनाउने भन्ने खालका सहमति पनि नभएको ओलीले बैठकमा जानकारी दिनुभयो ।
ओलीले एमाले र कांग्रेस बिचको समीकरण देशमा राजनीतिक स्थिरता र विकासको लागि गर्न लागिएको बताउनुभयो । तर एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागे भन्ने खालको भ्रामक प्रचार गर्न खोजिएको प्रति ओलीको आपत्ति छ । एमाले र कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ गयो भन्ने भ्रम फिँजाइएको ओलीले बताउनुभयो । ‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसका तिर जान्छ, कहिले उसातिर, चार सिट छ उसलाई मुख्यमन्त्री चाहिने’, ओलीले भन्नुभयो ।
यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी स्वार्थ, दलगत स्वार्थलाई केन्द्र भागमा राखेर गतिविधि सञ्चालन गर्ने काम भएका प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस एमाले एक ठाउँमा आउनु परेको उहाँले प्रष्ट पार्नुभयो ।
स्वार्थ प्रेरित भएर स्वार्थलाई बिच भागमा राख्ने काम भइरहेका भन्दै ओलीले चिन्ता व्यक्त गर्नुभयो । ‘ती कुरालाई कसरी रोक्ने, संघीयता बदनाम भइरहेको छ, त्यो बदनामी रोकेर त्यसलाई सफल बनाउन सकिन्छ, सकिँदैन, सफल बनाउने दिशामा लाग्नु पर्यो नि त’, ओलीले भन्नुभयो ।
त्यो पक्षमा विचार नै नगर्ने, खाली संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन नसक्ने उहाँले बताउनुभयो । ‘संविधान एउटा गतिशील दस्ताबेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डोर्याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ’, उहाँले भन्नुभयो ।
त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको ओलीले प्रष्ट पार्नुभयो । त्यसमा डिटेलमा पछि छलफल हुने उहाँले बताउनुभयो । अहिले धेरै कुरा बजारमा आएको बताउँदै ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पार्नुभयो ।
उहाँले कांग्रेस र एमाले बिच मन्त्रालय पनि बाँडफाँड नभइसकेको बताउनुभयो । सरकारमा सबैलाई हैसियतको आधारमा स्थान दिने भन्ने विषमा भने सहमति भएको ओलीले जानकारी दिनुभयो ।
‘बाँडफाँड पनि भइसकेको छैन, यो पार्टीले यो मन्त्रालय, यो पार्टीले यो मन्त्रालय, को–को सरकारमा सामेल हुने, क–कसको स्थिति के–के हुने भन्ने कुरा, साधारणतया हैसियतको आधारमा, बराबरी हैसियतमा कांग्रेस र एमाले व्यवहार गर्छन्’, उहाँले भन्नुभयो ।
उहाँले यदि उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताउनुभयो । सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उहाँले जोड दिनुभयो ।
उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रीकरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु आजका आवश्यकता भएको ओलीले बताउनुभयो । ‘उत्पादन वृद्धिका लागि पूर्वाधार वृद्धिमा ध्यान दिनु आजका आवश्यकता हुन्’, उहाँले भन्नुभयो ।
सडक, पूर्वाधार, विद्युत्, सञ्चार लगायतका क्षेत्रका आधारभूत काम भएका बताउँदै ओलीले अब शिक्षालाई बढी व्यवहारमुखी बनाउने तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।