काठमाडौ । काङ्ग्रेसंग मिलेर नयाँ सरकार बनाउने सहमती भएसंगै एमालेले प्रधानमन्त्री प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेको समर्थन फिर्तासंगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्ड ले निजी निवास खुमलटार सर्ने तयारी गरेका छन् । संसदमा विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि प्रचण्ड ललितपुरको खुमलटारस्थित निवासमा सर्ने तयारी गरेका हुन् ।
खुमलटारमा रहेको निवासमा आवश्यक सरसफाई गरेर बालुवाटारबाट सामान सार्न थालिएको छ । आइतवार केही सामान खुमलटार सारिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री बन्नुअघि प्रचण्ड व्यापारी शारदाप्रसाद अधिकारीको खुमलटारस्थित निवासमा बस्दै आएका थिए ।
प्रधामनन्त्रीले उपहारस्वरूप पाएका मूर्ति, सजावटका बस्तु, तस्वीरलगायत सामान खुमलटार सार्न थालिएको हो । केही बाकस कागजपत्र, निजी खर्चमा किनिएका कपडालगायत सामान सार्न थालिएको स्रोत बताउँछ । असार २७ मा पत्नी सीता दाहालको स्मृति कार्यक्रम परेकाले प्रचण्ड २८ गतेसम्म बालुवाटारमै बस्न खोजेको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री पत्नी सीताको २०८० असार २७ गते निधन भएको थियो ।
‘सीता दाहालको स्मृति कार्यक्रम सकेर बालुवाटार छाड्ने प्रचण्डको योजनाअनुसार २८ गतेका लागि विश्वासको मतको कार्यक्रम तय भएको हो,’ स्रोतले भन्यो । सम्भवत असार २९ गते नै प्रचण्ड खुमलटार सर्ने तयारी गरेका छन् । तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्ड २०७९ पुस १३ गते बालुवाटार सरेका थिए । सत्ता लम्बाउने प्रयास असफल भएपछि प्रचण्डले सामान सार्न थालेका हुन् ।
केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनेगरी नेपाली कांग्रेस र नेकपा एमालेबीच असार १७ गते भएको सहमति पछि प्रचण्डको सत्ता धरापमा परेको थियो । रास्वपा र नेकपा एसबाहेक अन्य दलले प्रचण्डलाई सहयोग नगर्ने स्पष्ट गरिसकेका छन् । राजनीतिमा कुनै भवितव्य नभए प्रचण्ड असार २८ गते प्रधानमन्त्रीबाट पदमुक्त हुनेछन् ।