आज पनि यी प्रदेशमा बर्षाको संभावना कायमै

काठमाडौ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा रहेको मौसमविदहरूले बताएका छन्।

जसको प्रभाव स्वरूप अहिले सोमबार बिहान सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदलीकाे अवस्था छ भने देशका बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज सोमवार दिउँसो पनि देशभरकाे माैसम साधारणतया बदली रहने छ। दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

adb bank long