सेती नदी बस्तीमा पसेपछि ६० घरपरिवारको स्कूलमा बास

Telecom

धनगढी । अबिरल बर्षाका कारण सेती नदीमा पानीको सतह बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। अहिले उनीहरूको स्थानीय स्कूलमा बास बस्न बाध्य छन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार सिगास गाउँपालिका वडा नम्बर ५ ढुंगाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको छ ।

उनले भने, “सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुंगाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारेका हौं। स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ।”

नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन्। अविरल वर्षाका कारण नदी किनारमा लगाएको तटबन्धमाथि पानी पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएको स्थानीयले बताए ।

सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका-५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नम्बर ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ।

सेती नदीको बाढीले यहाँ बर्सेनि आतंक मच्चाउने गरेको छ। यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास-५ ढुंगाडलगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो। लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

adb bank long