जनकपुर । पछिल्लो समय बदलिदो राष्ट्रिय राजनीतिसंगै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट आज शनिवार विश्वासको मत पाएका छन् ।
गत जेठ २५ गते मधेश प्रदेशको सरकार गठन भएको थियो।संवैधानिक व्यवस्थाअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । सोही संवैधानिक व्यवस्थाअनुसार उनले आज प्रदेशसभामा विश्वासको मत लिएका हुन् ।
मधेश प्रदेशमा सिंहको जनमत पार्टी चौथो ठुलो दल भएपनि अब केन्द्रमा बन्ने नयाँ सरकारमा जनमत सहभागी हुने सहमती भएसंगै सिंहलाई बिश्वासको मत प्राप्त गर्न थप सजिलो भएको हो ।
मुख्यमन्त्री सिंहलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी लगायतका सांसदहरुले विश्वासको मत दिएका हुन् ।
मधेशमा जनमत पार्टीसँग १३ प्रदेशसभा सदस्य छन् । कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा आज १०१ जना प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो । मुख्यमन्त्री सिंहलाई विश्वासको मतको पक्षमा ६७ मत प्राप्त भएको छ । विपक्षमा ३४ मत परेको छ ।
मुख्यमन्त्री सिंहले केन्द्रको सहमतीसंगै बिश्वासको मत लिनु अघि जेठ २५ मा मुख्यमन्त्री बन्दा समर्थन गरेका माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत दलका ६ जना मन्त्रीलाई बर्खास्त समेत गरेका थिए ।