काठमाडौ । गएराती देखि परेको अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खुलेको छ।
अबिरल वर्षासँगै खसेको पहिरोेले गएराती देखि सो सडक अबरूद्ध भएको थियो । पहिरो हटाएपछि अहिले यातायात पुनःसञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शुक्रबारदेखि जारी वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने अधिकांश सडक अवरुद्ध बनेका छन्। वर्षाकै कारण पहिरो खस्दा अवरुद्ध कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ प्रतापडाँडास्थित खण्डमा पहिरो हटाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरो जाँदा अवरुद्ध भएको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-५ महालक्ष्मी खोला नजिक मातातीर्थ, चखेल र देउराली जाने सडकखण्डमा पनि पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी फाकेलबाट खटिएको टोलीले पहिरो हटाउने कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। अविरल वर्षाकै कारण अवरुद्ध रहेको भिमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेस्थित सडकमा पनि पहिलो हटाउने काम भइरहेको छ। इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको टोलीले सडक विभागको समन्वयमा पहिरो हटाउने कार्य गर्दै आएको उनको भनाइ छ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ८ महादेवटार, प्रतापडाडा, बकैया गाउँपालिका–१२ आले, सिमात घुम्ती सडकखण्डमा पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।