काठमाडौ । काठमाडौको कमलादीमा जारी नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
समाजवादीको नेतृत्वका लागि अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले आफ्नो दाबी पहिले देखि नै कायम राखेका छन् ।
नेतृत्वको होडबाजीमा रहेका दुबैले आआफ्ना नारा अगाडी सारेका छन् । माधव नेपालले ‘युवाको साथमा अनुभवी नेतृत्व’ भनेर प्रतिनिधि आकर्षित गर्दैछन् भने भुसालले ‘यथास्थितिलाई अन्त्य गरौं, नौलो इतिहास कायम गरौं’ भन्ने सन्देशसहित प्रतिनिधिसँग छलफल गरिरहेका छन् ।
नेपाल र भुसालले अध्यक्षका लागि दाबी गरिरहँदा अन्य नेताहरूको जोड भने नेतृत्व सर्वसम्मत गर्नेमा छ ।
त्यसैगरी महासचिवका लागि उपमहासचिव गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा आकांक्षी देखिएका छन् ।
महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । जसअन्तगर्त मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजका लागि तोकिएको छ ।
समाजवादीले प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको जनाएको छ ।
त्यसैगरी सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
आज हुने निर्वाचन विद्युतीय उपकरणबाट गरिने समाजवादीले जनाइएको छ ।
एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।
केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट १ जना, प्रदेशअन्तर्गतका २५०० संगठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपाङ्गता) ७० जना र पदाधिकारीसहितको खुल्ला क्षेत्र ८० जना चयन हुने निर्वाचन निर्देशिकमा उल्लेख छ ।
त्यस्तै भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने प्रावधनमा निर्देशिकामा उल्लेख छ ।