काठमाडौ ।अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदहरूले जनाएका छन् । जसको प्रभावले देशभर साधरण देखि पूर्णतया बदली रहेको छ ।
आज बिहीवार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहीबार देशको कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ । देशैभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने भन्दै देशैभरका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सबैलाई आग्रह समेत गरेको छ ।