माओवादीको गतिबिधिका कारण काङ्ग्रेस-एमाले समिकरण : उपमहासचिव ज्ञवाली

Telecom

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमाले मिल्ने वातावरण माओवादीकै गतिविधिको कारण बनेको बताउनुभएको छ ।

पार्टी सचिवालय बैठक पछि मंगलबार पत्रकारसँग कुरा गर्दै ज्ञवालीले प्रचण्डलाई एमालेले ब्ल्याङ्क चेकमा सही गरेर प्रधानमन्त्री बनाएको बताउनुभयो । ‘हामीले सत्ता समीकरणमा हदैसम्मको लचकता अपनाएका थियौँ’, उहाँले भन्नुभयो ।

जनतामा बढ्दै गएको निराशालाई आशामा परिणत गर्ने एक मात्र ध्येय राखेर एमालले प्रचण्डलाई प्रधानमन्त्री बनाएको उहाँले बताउनुभयो । ‘हाम्रा सबै इच्छा, आकाङ्क्षालाई एकातिर पन्छाएर यो सरकार बनाउन हामीले निर्णायक भूमिका खेलका हौँ’, ज्ञवालीले भन्नुभयो ।

प्रचण्डले धरै गठबन्धन सरकार चलाउनुभएको बताउँदै ज्ञवालीले अहिलेको गठबन्धन जस्तो गठबन्धन र एमाले जत्तिको रचनात्मक सहयोगी दल नपाएको ज्ञवालीले दाबी गर्नुभयो । सरकारका धेरै काम र निर्णय प्रक्रियाको बारेमा एमाले असहमत भएको र त्यस बारेमा छलफल पनि गरेको ज्ञवालीले बताउनुभयो । तर कुनै पनि विषयलाई लिएर एमाले सत्ता समीकरण बदल्न पक्षमा नभएको र यो समीकरणले पुरै समय काम गर्छ भन्दै आएको उहाँले स्मरण गराउनुभयो । ‘केही विषय थिए तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन्, यही सरकार अगाडि बढाइरहनुपर्छ भन्नेमा थियौँ’, उहाँले भन्नुभयो ।

यस बिचमा अचानक गत हप्तादेखि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग पैदा भएको उहाँले सुनाउनुभयो । बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वयम् वैकल्पिक सरकारको बहस सुरु गरेपछि अहिलेको अवस्था आएको उहाँले बताउनुभयो । सत्ता साझेदार कसैसँग सल्लाह नगरी प्रमुख प्रतिपक्षी दलसँग उहाँले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्‍यो तपाईँहरू आउनुस् भन्ने ढङ्गले, त्यो राष्ट्रिय सरकारको आवश्यकता के थियो, सन्दर्भ के थियो, त्यसको औचित्य र आवश्यकता के हो ? त्यसले के काम गर्छ ? अहिलेको बहुमतको सरकार के मानेमा अपर्याप्त भयो र त्यो बाटोमा जानुपर्ने भयो भन्ने कुरा काहीँ पनि छलफल भएन’, ज्ञवालीले भन्नुभयो ।

सत्ताको मुख्य घटक नेकपा एमालेसँग छलफल नै नगरी प्रधानमन्त्री दाहाल प्रमुख विपक्षी दलसँग त्यस्तो छलफल गरेको कुरा प्रमुख विपक्षी दलबाट एमालेले थाहा पाउनेसम्मको स्थिति बनेको उहाँले बताउनुभयो । ‘यो धेरै गम्भीर कुरा हो, या प्रश्नलाई नेकपा एमालेले निकै गम्भीरतापूर्वक लिएको कुरा सत्य हो’, उहाँले भन्नुभयो ।

यस विषयमा प्रचण्डलाई सोधिएको पनि उहाँले बताउनुभयो । पहिला प्रचण्डले सो कुरा अस्वीकार गरे पनि पछि त्यो कुराको कुनै राजनीतिक अर्थ छैन भनेर पन्छिन खोजेको उहाँले सुनाउनुभयो । ‘सामान्यीकरण गर्ने प्रयास त गर्नुभयो, तर यसले स्वाभाविक रूपमा हामीलाई केही प्रश्न खडा गर्‍यो’, ज्ञवालीले भन्नुभयो ।

यस अघि पनि एमालेको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले केही दिनमा कांग्रेससँग मिलेर एमालेलाई बाहिर राखेको कुरा उहाँले स्मरण गराउनुभयो । ‘गत वर्ष पनि हाम्रो प्रस्तावमा प्रधानमन्त्री बन्नुभयो तर, १५ दिन नबित्दै सरकारको दायरा फराकिलो पार्ने नाममा कांग्रेससँग मिलेर एमालेलाई किक आउट गर्नुभएको हो, यो पृष्ठभूमिमा हामी सशङ्कित हुनु स्वाभाविक हो तर, यसपालि नेपाली कांग्रेसले उहाँको प्रस्तावलाई स्वीकार नगरेको अवस्था हो’, ज्ञवालीले भन्नुभयो ।

यो ढङ्गले सरकार धेरै जाँदैन, कांग्रेस माओवादीको नेतृत्वमा सरकारमा जान सक्दैन, बरु एमालेको नेतृत्वमा सरकार बनाऊँ भनेर प्रस्ताव आएपछि एमालेले त्यसलाई स्वीकारेको ज्ञवालीले बताउनुभयो । ‘यो कसैलाई निषेध गर्नका निम्ति बनाइएको कुरा होइन’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री आफैँले यसरी सरकार अघि बढ्दैन, राष्ट्रिय सरकार बनाउनु पर्छ भनेर स्विकारेपछि एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रयास सुरु गरिएको ज्ञवालीले बताउनुभयो । ‘म उहाँलाई यो प्रक्रियामा सहभागी हुन र मुलुकलाई राजनीतिक निकास दिन आह्वान गर्दछु’, उहाँले भन्नुभयो ।

उहाँले संविधान कार्यान्वयनको सन्दर्भमा कहाँ समस्या पर्छ त्यसलाई संशोधन गर्दै लैजाने भन्ने कुरामा छलफल भएको बताउनुभयो । अहिले नै यो यो धारा परिवर्तन गर्ने भन्ने विषयमा छलफल नभएको उहाँले प्रष्ट पार्नुभयो ।

कुनै पनि दलसँग सम्बन्ध बिग्रियोस् र चिसो बनोस् भन्ने पक्षमा एमाले नरहेको उहाँले बताउनुभयो । यसको लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुहुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

adb bank long