काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद हेरफेर गर्ने भएका छन् । उनले प्रतिनिधि सभामा ६ सांसद रहेको जनमत पार्टी र ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा ल्याउन लागेको बुझिएको छ । स्रोतका अनुसार यही निर्णय गर्न प्रधानमन्त्री प्रचण्डले आज सोमबार साँझ सत्ता गठबन्धनका दलहरूको बैठक बोलाएका छन् ।
यदी बेलुकाको बैठकमा कुरा मिलेमा प्रचण्डले भोलि १८ गते मंगलवार नै शपथ गर्ने गरी मन्त्रीमण्डल हेरफेर गर्ने स्रोतले बताएको छ ।
माओवादी भित्र नागरिक उन्मुक्तिलाई नेकपा माओवादी केन्द्रले समालिराखेको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय दिने सहमति जुटिसकेको स्रोतले बताएको छ।
नाउपाले पाएको भागमा अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने निश्चित छ। नाउपाका महासचिव रतन थापा भन्छन्, ‘अध्यक्ष (रञ्जिता श्रेष्ठ) लाई मन्त्री बनाउने तयारी छ। पर्यटन मन्त्रालय नै दिने भनेर प्रधानमन्त्रीले वचन दिनुभएको भनेर अध्यक्षज्यूले भन्नुभएको छ। यसमा तलमाथि नहुनुपर्ने हो।’
यसअघी २०७९ चैत १७ गते बनेको मन्त्री परिषद्मा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेकी थिइन्।
यस्तै, जनमत पार्टीबाट अध्यक्ष चन्द्रकान्त (सीके) राउत आफै मन्त्री बन्ने सम्भावना छ। यद्यपि, अहिलेसम्म उनले पाउने मन्त्रालयको भने टुंगो लागिसकेको छैन।
जनमतका अध्यक्ष राउतले आफ्नो दललाई दिने मन्त्रालय टुंगो लागेपछि मात्र मन्त्रीबारे निर्णय गर्ने बताएका छन् ।
जनमतकी प्रमुख सचेतक अनिता साहका अनुसार राउतको दाबी उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयमा छ। अध्यक्ष राउतले एमालेले निर्णय नगरेकैले ढिलाइ भएको बताएका छन्।
एमाले अध्यक्ष ओलीले उद्योग मन्त्रालयको सट्टा राउतलाई उपप्रधान र परराष्ट्र मन्त्रालय लिन गृहमन्त्री रवि लामिछानेमार्फत् सन्देश पठाएको बुझिएको छ ।
यसअघीको गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री हुँदा २०७९ पुसमा जनमतले अब्दुल खानलाई मन्त्री बनाएको थियो। त्यसबेला पनि जनमतले मागेको उद्योग मन्त्रालय नदिएर खानेपानी दिइएको थियो।
यसअघि जेठ २८ गतेभित्रै केही मन्त्री फेर्ने प्रचण्डको प्रयास सफल हुन सकेको थिएन। सत्तारुढ दल एमालेले मन्त्रालय छोड्न नमानेपछि त्यसबेला हेरफेर रोकिएको र ढिलाइ भएको प्रचण्ड र सहभागी दलहरूको बुझाई छ ।