काठमाडौ। हाल नेपालमा देशैभरी मनसुनी वायुको प्रभाव रहेको मसमविद्हरूले बताईरहेका छन् । जसको कारण अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
आज सोमवार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरमुनि वर्षा हुनुलाई हल्का, यसभन्दा माथि ५० मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई मध्यम तथा ५० मिलिमिटरभन्दा माथि तर सय मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।