एकीकृत समाजवादीको महाधिवेशन भोलिदेखि सुरू हुँने, १८४९ प्रतिनिधि काठमाडौमा

Telecom

काठमाडौ । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशन १६ गते आइतवारदेखि २० गतेसम्म काठमाडौको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ ।

महाधिवेशन बारे जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा सबै तयारी पूरा भएको जनाईएको छ ।महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए । ती दस्तावेज कम्युनिष्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिए । उनले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।

महाधिवेशनमा नेपाल भरीबाट १ हजार ८ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ । महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ ।

महाधिवेशनस्थललाई आकर्षक बनाउन सिंगारिएको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।

प्रोटोन एजुकेसन
adb bank long