वैदिक दिब्य धामले काम थाल्यो, उर्लाबारीमा ‘शास्त्रीय सम्मेलन’ हुने 

उर्लाबारी । मोरङको उर्लाबारीलाई बैदिक दिब्य धाम सभ्यताको रुपमा विकास गरिने भएको छ। पाण्डवहरू विराट राजाको दरबारमा ३ बर्ष गुप्तवास बस्दा अर्जुनका छोरा अभिमन्यु उपलब्धीपुर (हालको उर्लाबारी) मा डेरा गरी बसेको शास्त्रीय प्रमाण भएकाले यस स्थानलाई एउटा सभ्यता कै रुपमा विकास गरी धार्मिक पर्यटकीय हिसाबले विश्वमै चर्चित बनाउन लागिएको बताइएको छ। वैदिक दिब्य धाम नेपाल उर्लाबारी मोरङले उक्त कार्यको लागि उर्लाबारीमा केन्द्रीय कार्यालय राखेर आफ्नो काम सुरु गरेको छ। धार्मिक पर्यटन प्रवर्द्धन र विकासका लागि ओमकार परिधिभित्र रहेर सबै धर्मसँग सहिष्णुभाव राख्दै पूर्वीय दर्शन धर्म संस्कारसंगै समृद्ध र सुसंस्कृत समाज बनाउनुपर्छ भनेर उक्त संस्था अगाडि बढेको संस्थाका अध्यक्ष बिष्णु प्रसाद सुवेदीले बताएका छन्। संस्थाले आफ्ना कार्यक्रमहरू गर्ने क्रममा यही असार १० गतेदेखि ७ दिनसम्म सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नका लागि स्थानीय मौलिक भजन किर्तन प्रतियोगिता तथा सम्मान कार्यक्रम आयोजना गरेको छ।

त्यसैगरी असार २४ गतेबाट शास्त्रीय सम्मेलन गरिने भएको छ। सबै धर्मका धर्मगुरुबाट शास्त्रीय मन्थन गरेर उक्त कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा निचोड निकालिने अध्यक्ष सुवेदीले जानकारी दिएका छन्। उक्त सम्मेलनमा उर्लाबारीको ऐतिहासिक सांस्कृतिक धार्मिक महत्त्वको बारेमा पनि छलफल र बहस गरिने उनले बताएका छन्। सोही सम्मेलनमा विष्णु गङ्गा वक्राहा नामको शास्त्रीय प्रमाण दिन लागिएको उनले बताएका छन्।त्यसैगरी संस्थाका सचिव अच्यूतानन्द भारद्वाजले नेपालकै पहिलो मोक्षधाम उर्लाबारीमा निर्माण हुन लागेको बताएका छन्। केही महिनापछि बक्राहा नदी उर्लाबारी-४ खण्डको पश्चिमपट्टिको किनारमा शालिग्राम भगवानको दिव्य धाम आश्रम र वेद विद्या गुरुकुल निर्माण कार्य सुरु गरिने उनले जानकारी दिएका छन्। बक्राहा नदीको पश्चिमपट्टि थापाडांगीको बक्राहा किनारमा रहेको १७ कठ्ठा जग्गामा उक्त कार्यक्रम गर्न लागिएको हो। उक्त स्थानमा श्रीखण्ड, रक्तचन्दनका हजारौं बिरुवाहरू लगाइने, बक्राहा नदीमा नयाँ आधुनिक तटबन्ध गरी करिडोर स्थापना गरिने, सयौं व्यक्तिहरूलाई रोजगारीको अवसर प्रदान गरिने, स्वास्थ्य उपचारका लागि उक्त स्थानलाई केन्द्रबिन्दु बनाएर काम गर्ने लगायतका विषयका बारेमा उनले जानकारी दिएका छन्। उनका अनुसार चन्दादाता, दानदाताहरू र विष्णु लक्ष्मी तीर्थयात्रा सेवाको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिने भएको छ। पाँच वर्षभित्रमा उक्त स्थानमा संरचनाहरू निर्माण गरिसक्ने उनले बताएका छन्। उनले सृष्टिको दोस्रो र विश्वको पहिलो ब्रह्म अमृत महायज्ञको आयोजना बोकेको यस संस्थाले निरन्तर रुपमा काम गर्ने जानकारी दिएका छन्।

२०७८ सालमा जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको बैदिक दिब्य धाम नेपालले धार्मिक गतिविधिका साथै आर्थिक उपार्जनका कामहरू पनि अगाडि बढाउने जानकारी गराएको छ। संस्थाका अनुसार हाल साढे तीन बिगाहा जग्गामा कृषि कार्यक्रम सञ्चालन भइरहेको छ। संस्थाका अध्यक्ष सुवेदीले बांझो जग्गा लिजमा लिएर आर्थिक उपार्जनको थप कामहरू गर्दै जाने र सहयोग दिने भक्तजनहरू प्रशस्त मात्रामा रहेको बताएका छन्।उनी भन्छन्-‘ हिमालय रेञ्जको सभ्यता भनेको नेपाली सभ्यता हो, यसलाई सबै समाजले मान्यता दिएका छन् । हिमालय पर्वतमा कैलाश पर्दछ र कैलाश मानसरोबर वा गौरिशंकर हिमश्रृङ्खला यी सबै हिजो नेपाली भूभाग र सभ्यतामा पर्दथे । यसबाट ज्ञात हुन्छ कि विश्वमा नेपाली सभ्यता सबभन्दा पुरानो पनि हो ।’

पूर्वीय समाजमा पनि मानव सभ्यताको विकासमा र मानवको चेतनाको अभिवृद्धिमा महत्वपूर्ण विकास भएको उनको भनाई छ। मानवलाई संसारकै चेतनशील प्राणीसम्मको विकासको व्याख्या चाल्र्स डार्बिनले गरेको भन्दै उनले एक कोशीय जनावर अमिवादेखि हजारौँ कोशीय जनावर मानिससम्मको विकासमा पानी–चिस्यान र तापक्रमको विकासबाट भएको बताएका छन्। उनले यस स्थललाई सबै ऋषिहरूको तीर्थस्थलको रुपमा विकास गरिने जानकारी दिएका छन्। उक्त कार्यक्रम सम्पन्न गर्नका लागि स्थानीय , राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका संघसंस्था एवम् ब्यक्तित्वहरूसँग समन्वय सहकार्य गर्दै जाने जानकारी दिएका छन्।

adb bank long