काठमाडौ । नयाँ बानेश्वरस्थित संसद् भवनमा खटिएका प्रहरी जवान अजित गोलेले आत्महत्या गर्नुको कारण प्रेमिकासँगको सम्बन्ध बिग्रिएको भन्ने प्रहरीको प्रारम्भिक निस्कर्ष निस्किएको बुझिएको छ।
३ बर्ष पहिले प्रहरी जवानमा भर्ना भएका दोलखाको मेलुङ गाउँपालिका ४ का २२ वर्षीय गोले संसद् भवनको पश्चिमतर्फको २ नम्बर गेटमा सुरक्षाका लागि हतियारसहित खटिएका थिए। सोही क्रममा उनले शौचालयमा गएर आफैँलाई गोली हानी आत्महत्या गरेका थिए ।
गोले बुधबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि संसद् भवनमा ड्युटीमा खटिएका थिए। उनले राइफल भुइँमा अड्याएर खुट्टाले निधारमा ताकेर गोली चलाएको प्रहरीको अनुमान छ। सीसीटीभी फुटेजलगायतबाट पनि उनले नै गोली हानेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन्।
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भएका गोले संघीय संसद् सुरक्षा बेस नयाँ बानेश्वरमा कार्यरत थिए।
घटनास्थलमा उनको मोबाइल फेला परेको थियो । उक्त मोबाइलमा भएका म्यासेजका आधारमा उनले प्रेमिकासँगको सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। शौचालयमा फेला परेको उनको मोबाइलमा घटनाकै समयमा एक युवतीसँग कुरा गरेको पनि देखिएको छ।
प्रेमीका भनिने हाल दुबईमा रहेकी ती युवतीसँग उनले करिब ५ महिना पहिले नै इन्गेजमेन्ट गरिसकेको पनि खुलेको छ।
तर इन्गेजमेन्ट गरेर गएकी उनले दुबई पुगेपछि आफूलाई बेवास्ता गरेको भन्दै ती प्रहरी जवानले आफू मर्ने भनेर पनि म्यासेज पठाएको भेटिएको छ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।