काठमाडाैं । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीमा पाएको जिम्मेवारी अर्थ राख्ने गरी पुरा गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारी सहितको शपथग्रहण कार्यक्रममा बोल्दै ढकालले जिम्मेवारीबाट अलग भएपछि पदको महत्त्व बुझ्ने स्थिति आउनु नहुने बताउनुभयो । ‘जिम्मेवारीमा रहँदै जिम्मेवारी पुरा गर्नुपर्छ, जिम्मेवारीबाट अलग्गिएपछि म गर्थेँ भनेर पनि पाइँदैन’, उहाँले भन्नुभयो ।
ढकालले देश र सन्ततिलाई हेरेर काम गर्नुपर्ने बताउनुभयो । पार्टीका नेताहरूले आज गरेको कामको प्रभाव भोलिका सन्ततिलाई पर्ने कुरा बिर्सन नहुनेमा ढकालले जोड दिनुभयो ।
पार्टी काममा के योगदान रह्यो भन्ने अर्थमा पार्टीका नेता कार्यकर्ताको कामलाई हेर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टीमा राय बढाएर र कुरा काटेर पार्टी काम नहुने उहाँले प्रष्ट पार्नुभयो ।