विदेशमा बसेर देशलाई गाली गरेर देश बन्दैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशमा बसेर देशलाई गाली गरेर देश नबन्ने बताउनु भएको छ। नेकपा एमाले अहिले पनि चुनौतीको बिचमा रहेको उहांको भनाई छ ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आइतबार च्यासलमा आयोजना गरेको विभागीय पदाधिकारी र सदस्यको शपथग्रहण तथा जनसंगठनका पदाधिकारी सहितको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यी चुनौतीलाई कामबाट नै समाधान गर्नुपर्ने बताउनुभयो । पार्टी समक्ष रहेका चुनौती सामना गर्न पार्टी र पार्टीका विभाग तथा जनसंगनठको महत्पूर्ण भूमिका हुने उहाँले प्रष्ट पार्नुभयो । ‘पार्टीलाई सही रूपमा अघि बढाउन भूमिका खेल्ने काम विभागहरूले गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

आफूले प्राप्त गरेको कामको क्षेत्र पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउन र जनतामा जोडिनको लागि हो भन्ने कुरा जिम्मेवारी प्राप्त गर्नेले अनुभूत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जसले जे जिम्मेवारी पाएको छ, उसले पाएको त्यो जिम्मेवारीको महत्त्वपूर्ण अर्थ रहेको उहाँले बताउनुभयो । पार्टीका हरेक गतिविधि जनतासँग जोडिनु पर्ने उहाँको भनाइ छ ।

जनतालाई उपेक्षा गरेर पार्टीको काम अघि नबढ्ने उहाँले बताउनुभयो । जनतासँग घुलमिल हुने नाममा जे पनि गर्ने भन्ने कुरा भने उचित नभएको उहाँले स्पष्ट पार्नुभयो । त्यसैले राजनीतिक दलका नेता, कार्यकर्ता समाजमा आदर्श पात्रको रूपमा स्थापित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जनताको बिचमा जाने क्रम निक्कै पातलिएको भन्दै पोखरेलले जनतासँग जाने कुरालाई बाक्लो गराउनु पर्ने बताउनुभयो । जनताको चाहना राजनीतिक दलका नेताहरू आफ्नो घरमा आइदेओस् भन्ने हुने उहाँले प्रष्ट पार्नुभयो । ‘हामी जनताको बिचमा जान छाडेका छौँ, जसको कारण उनीहरूसँगको हाम्रो सम्बन्ध टुटेको छ’, उहाँले भन्नुभयो ।

नेपालको राजनीतिमा युवाको आकर्षण गराउन नसकिएको उहाँले बताउनुभयो । युवालाई राजनीतिमा नल्याएसम्म भविष्य सुरक्षित नहुने पोखरेलले प्रष्ट पार्नुभयो । ‘वर्तमानमा मात्र रमाएर भविष्य बन्दैन, भविष्यको सुरक्षा गर्न भविष्यलाई सुरक्षित गर्नुपर्छ’,उहाँले भन्नुभयो ।

पोखरेले आज देशमा रोजगारीको अवसर छैन भनेर विदेश जाने र विदेशमा गएर नेपाल र नेपालको राजनीतिलाई गाली गर्ने क्रम बढेको बताउनुभयो । देशलाई समृद्ध बनाउने हो भने देशमा नै भविष्य खोज्नु पर्ने उहाँले प्रष्ट पार्नुभयो । विदेशमा बसेर देशलाई गाली गरेर देश नबन्ने उहाँले बताउनुभयो ।

अहिले नेपालमा रोजगारीको अवसर नै छैन भनि युवा बिदेसिएका भए पनि त्यो गलत भएको उहाँले बताउनुभयो । नेपालमा बेरोजगारी भएकै कारण नेपाली युवा विदेश नगएको पोखरेलका दाबी छ ।

नेपाली युवा रोजगारीमा गएका देशमा थप बढी बेरोजगारी रहेको उहाँले बताउनुभयो । नेपालमा काम नगर्ने तर विदेशमा भने जे काम पाए पनि गर्ने प्रवृत्ति नेपाली युवामा देखिएको उहाँले प्रष्ट पार्नुभयो ।
नेपालबाट युवाहरू रोजगारी खोज्न विदेश गइरहँदा भारतबाट नेपाल आएकाले नेपालमा रोजगारी गरेर ठुलो पैसा भारत लैजाने गरेका उहाँले सुनाउनुभयो । कतिपय नेपालका उद्योग व्यवसायमा भारतीय कामदारको एकाधिकार रहेको उहाँले प्रष्ट पार्नुभयो ।

नेपालमा केही समुदाय बाहेक व्यावसायिक काम गर्ने अवधारणा नै विकास नभएको पोखरेलले बताउनुभयो । व्यवसाय नगर्ने, गरिहाले पनि उचित व्यवस्थापन नगर्दा घाटामा जाने र त्यस पछि राज्यलाई गाली गर्ने प्रवृत्ति नेपाली समाजमा रहेको उहाँले टिप्पणी गर्नुभयो ।
समाज बदल्नको लागि पाँचवटा आधार रहेका बताउँदै पोखरेलले त्यो आधार राजनीतिक दलका कार्यकर्ताले नै दिन पर्ने उहाँले बताउनुभयो।

नेपालको शिक्षा उत्पादनमा जोड दिने खालको नभएको उहाँले बताउनुभयो । नेपालका विश्वविद्यालयले जागिर खोज्ने शिक्षा मात्र दिएको उहाँले बताउनुभयो । जसको कारण नेपालका विश्वविद्यालयबाट उत्पादित जनशक्तिले देश निर्माणको लागि काम गर्न नसकेको पोखरेलले प्रष्ट पार्नुभयो ।

त्यस्तै कमजोर स्वास्थ्य अवस्था भएका नागरिक भएका मुलुकले देशको लागि काम गर्न नसक्ने उहाँले बताउनुभयो । उत्पादनमा विज्ञान प्रविधिले ल्याएका उपकरण प्रयोग गर्ने सामर्थ्य नेपाली समाजमा कमजोर रहेको उहाँले बताउनुभयो । यसले पनि देश विकासले गति लिन नसकेको पोखरेलले प्रष्ट पार्नुभयो । ‘देश निर्माणको लागि चाहिने प्रविधिमा हाम्रो रुचि कम छ’, उहाँले भन्नुभयो ।

नेपाली समाजमा बचनको संस्कृति पनि निक्कै कमजोर रहेको उहाँले बताउनुभयो । ‘जुन समाजले बचन संस्कृति विकास गर्न सक्दैन, त्यहाँ पुँजी निर्माण हुन सक्दैन’, उहाँले भन्नुभयो ।

व्यावसायिकताको विकास जबसम्म राष्ट्रमा गर्न सकिँदैन तबसम्म देश विकास हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो । नेकपा एमालेको ध्यान यिनै कुरामा जानु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रोटोन एजुकेसन
adb bank long