काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले स्वार्थका लागि कुद्ने पार्टी नभएको बताउनुभएको छ । एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले दैनिक रुपमा विभिन्न स्वार्थका लागि एमालेलाई जोडेर हिड्नेको बिगबिगी रहेकोले त्यसप्रति कुनै सत्यता नभएको जिकिर गर्दै उक्त कुरा बताउनुभएको हो ।
देशलाई गरिब बनाएर आफ्नो र विदेशीको स्वार्थका लागि लाग्नेहरुको देशमा कमी नभएकोले देश गरिबीतर्फ उन्मुख भएको ओलीले बताउनुभयो । देशलाई गरिब बनाउन प्रयास भइरहेकोले उनीहरुको आफ्नो स्वार्थ र विदेशीको स्वार्थ पुरा गर्नेहरुबाट बच्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । देश बनाउने विचार र समृद्ध नेपाल सुखी नेपालीको विचार एमालेले ल्याएकोको अवस्थामा एमालेजस्तो राष्ट्रिय शक्ति सुदृढ भइसकेकोले त्यसको अभिभारा पुरा गर्न एमाले सक्षम रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले समृद्ध बनाउने एमालेको लक्ष्य पूरा हुन नदिन र एमालेलाई र आफ्नो विरुद्ध हरेक दिन अनेक हल्ला फिजाइरहेको अध्यक्ष ओलीले दावी गर्नुभयो । कहिले ३ सय करोड त कहिले ५ अर्व, कहिले खर्बौ खाएको भनेर हल्ला फिजाउदै हिड्दै एमालेप्रति द्धेष फैलाउने सक्रिय भएको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “दिनैपिच्छे हजार करोड खायो भन्देेै हिड्ने, अहिले मैले बोली सक्दानसक्दै अर्को हजार करोड खायो भन्ने पनि छन् । कहिले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने, कहिले स्वीस बैंकमा ६५ करोड राखेको, कहिले गिरीबन्धुमा हजारौं करोड खाएको भनेर अनावश्यक हल्ला फिजाएर हिडिरहेका छन् । दश हजार करोड खायो भनेर अस्ति भर्खर एउटाले दिउँसै सडकमा उभिएर कराउदै थिए । कहिलेकाही त जोखना हानेर बोल्छन् की जस्तो लाग्छ । यी सबैको जवाफ दिनुको अर्थ छैन किनकी मैले त्यत्रो सम्पति कहाँ राख्ने होला, मलाई नै थाहा छैन । उनीहरुको एक मात्र लक्ष्य एमालेलाई कमजोर पार्नु हो । आफुले आफ्नो सम्पत्ति समाजलाई दान दिइसकेकोले स्वार्थमा लाग्नुपर्ने कुनै कारण छैन ।”
अध्यक्ष ओलीले भ्रमको तुवालो चिर्दै विकास र समृद्धिको लक्ष्यमा अडिग रहेको बताउनुभयो । देश सुरुङ, रेल र पानीजहाजको युगमा प्रवेश र यसका लागि विरोधीले कुनै समय उडाउने गरेको प्रसंग कोट्याउँदै सपना देख्ने र सपना पुरा गर्ने कार्य एमालेले मात्र पुरा गर्न सक्ने बताउनुभयो ।
अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओलीसहित एमाले स्थायी कमिटी सदस्य तथा ललितपुर इञ्चार्ज शेर बहादुर तामाङ, पोलिटब्यूरो सदस्य सुशिला नेपाल, केन्द्रीय सदस्यहरु हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाल, एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य, ललितपुर महानगरभित्रका विभिन्न पार्टीका प्रमुखहरुले सम्बोधन गरेका थिए ।
समारोहमा ललितपुरका पुराना कम्युनिष्ट नेता सिद्धिलाल सिंहलगायतलाई सम्मान गरिएको थियो । उक्त समारोहमा महानगरले प्रकाशित गरेको पुस्तक संकल्पको विमोचन गरिएको थियो । अध्यक्ष ओलीले विभिन्न पार्टीमा सक्रिय ५ जनालाई टिका लगाएर एमाले प्रवेशसमेत गराउनुभयो थियो ।
महानगरको दोस्रो अधिवेशनमा सहभागी करिब २ सय ५० प्रतिनिधिले नयाँ कमिटी चयन गर्ने कार्यक्रम रहेको छ ।