काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।
मोदीले आज आइतवार बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदैछन् ।
शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार नै त्यसतर्फ प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् ।
प्रधानमन्त्री प्रचण्ड सोमबार (भोलि) बेलुका ६ बजे स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।