मधेशमा सरकार गठनको प्रकृया सुरू, जनमतका सिंहको संभावना बलियो

काठमाडौ । समाजवादीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासंगै मुख्यमन्त्री सरोजकुमार यादवले बिश्वासको मत नपाएपछि मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधवार नै नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि शुक्रवार बिहान १० बजेसम्मको समय दिइएको छ । जनमतले सतिशकुमार सिंह मुख्यमन्त्रीमा अघि सार्ने संभावना देखिएको छ । जनमत संसदीय दलका नेता महेशप्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसद बताउँछन् ।

ती सांसद भन्छन्, ‘मुख्यमन्त्री कसलाई बनाउने निर्णय गर्ने जिम्मा हामीले पार्टी अध्यक्ष डा. सीके राउतलाई दिएका थियौं । अध्यक्षजीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गर्नु भएको छ ।’ सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेशमा नयाँ राजनीतिक समीकरण बनेको हो ।

जनमतलाई २५ सिटको एमाले, ९ सिटको माओवादी, ७ सिटको एकीकृत समाजवादी तथा १ सिटका नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टी गरी ५५ मत पुग्ने आँकलन छ । मधेशमा सरकार गठनको लागि ५४ सिट चाहिन्छ ।

जसपाका यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र राप्रपाका १ जना सांसदले विश्वासको मत दिएका थिए भने विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका ९, एकीकृत समाजवादीका ७ जनाले मतदान गरेका थिए ।

एमाले र माओवादीसँगै मंगलवार एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्न एमाले, माओवादी र एकीकृत समाजवादीबीच यसअघि नै सहमति भइसकेको छ ।

प्रोटोन एजुकेसन
adb bank long