काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता विवाद चुलिएको छ ।महासंघ नेतृत्वले सदस्यता शुद्धीकरणका नाममा राजनीतिक आस्थाको आधारमा सदस्य वितरण र पुराना सदस्य कटौती गरेपछि विवाद चुलिएको हो । विवादसँगै महासंघको जेठ २६ गते हुने भनिएको नेतृत्व चयनको निर्वाचन समेत अन्योलमा परेको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले महासंघ नेतृत्वले गरेको निर्णयको कडा आलोचना गर्नुभएको छ । उहाँले महासंघ नेतृत्वलाई आफ्नो सदस्यता खारेज गर्न चुनौती दिनुभएको छ । ‘ बाहिर ट्रायलमा पठाएकै सूची अनुसारको नाम हो भने मेरो नाम पनि काटिदिनोस्, म गर्व गर्छु’, बस्नेतले सार्वजनिक रूपमा महासंघको नेतृत्वलाई चुनौती दिनुभएको छ ।
बस्नेतले नेपाल पत्रकार महासंघलाई गैरपत्रकारको संस्था बनाउन खोजेको भन्दै आलोचना गर्नुभएको छ । ‘समाचार लेख्नेलाई फाल्ने कुरामा सहमत हुन सकिन्न’, बस्नेतको धारणा छ ।
सदस्यता शुद्धीकरणको विषयलाई लिएर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा सम्पूर्ण पदाधिकारीहरूले आज मंगलबार बिहान नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष र महासचिवलाई महासंघको केन्द्रीय कार्यालयमा भेटी महासंघको कुनै पनि प्रक्रियामा सहभागी नहुने निर्णय जानकारी गराएको छ । ‘शुद्धीकरणका नाममा समाचार लेखेर बाँच्ने पत्रकारहरूलाई हटाउने यो प्रपञ्च हामी अब मान्दैनौँ, यो निकम्मा नेतृत्वले अब शुद्धीकरण गर्न सक्दैन’, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेले भन्नुभयो ।
प्रेस चौतारी नेपालले पत्रकार महासंघको सदस्यता शुद्धीकरण चाहेको बताउँदै पाण्डेले तर, शुद्धीकरण विधि र प्रक्रियामा हुनु पर्ने बताउनुभयो । सदस्यता शुद्धीकरणको लागि महासंघलाई अधिकतम लचकताका साथ साथ दिएको भए पनि दोहोरो/तेहरो मापदण्डका आधारमा सदस्यताको सूची तयार गर्ने काम भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘मापदण्डलाई धुजा/धुजा बनाउने काम भयो’, उहाँले भन्नुभयो ।
प्रेस चौतारीमा आस्थावान् मात्र होइन, अब सम्पूर्ण श्रमजीवी पत्रकारको नेतृत्व प्रेस चौतारी नेपालले गर्ने उहाँले स्पष्ट पार्नुभयो । ‘देशभर प्रतिरोधमा उत्रन्छौँ, हाम्रो सहभागिता बिना अघि बढे यसको जिम्मेवार स्वयम् महासंघको वर्तमान नेतृत्व हुनेछ’, पाण्डेले भन्नुभयो।
प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकार महासंघ भित्र भएको भ्रष्टाचार र अनियमितता सार्वजनिक हुने डरले प्रेस चौतारीलाई त्यहाँ भित्र पस्ने ढोकै बन्द गर्ने नियतले सदस्यता कटौती गरिएको बताउनुभयो । प्रेस चौतारी नेपाललाई वर्तमान नेतृत्वको यो निर्णय कुनै पनि हालतमा मान्य नहुने लामाले बताउनुभयो ।
महासंघ नेतृत्वको यो निर्णय विरुद्ध देशव्यापी आन्दोलनमा जाने र महासंघ भित्र भएको अनियमितता तथा भ्रष्टाचारको भण्डाफोर गर्ने उहाँले बताउनुभयो । ‘महासंघको अक्षय कोषको पैसा समेत मासेको सूचना हामीले पाएका छौँ, लाखौँ लाखका चेकहरू काटिएका छन्, त्यहाँ भित्र व्यापक भ्रष्टाचार र अनियमितता भएको छ, त्यसलाई लुकाउन प्रेस चौतारी आबद्ध पत्रकारको सदस्यता नै कटाएर महासंघमा छिर्नै नदिने प्रयत्न हुँदै छ, यो हामीलाई कुनै पनि हालतमा मान्य हुँदैन’, उहाँले भन्नुभयो ।
महासंघ नेतृत्वले महाधिवेशनले तय गरेको १५ बुँदे मापदण्डलाई पुरै लत्त्याएर मनलाग्दि सदस्यता थप र कटौती गरेको भन्दै उहाँले यसलाई स्विकार्न नसकिने बताउनुभयो । अब सशक्त आन्दोलन मार्फत निकम्मा र अवैध बनिसकेको महासंघको नेतृत्वलाई हटाउनुको विकल्प नरहेको लामाको भनाइ छ ।