काठमाडौ । काठमाडौ महानगरपालिकाले आइसीसी टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि ३ ठाँउमा प्रत्यक्षप्रदर्शन स्थान राख्ने भएको छ ।
महानगर अन्तर्गतको टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान राख्ने तयारी गरेको छ । आज बेलुका नेपालले नेदरल्याण्ड्ससंग खेल्ने भएसंगै महानगरले यो ब्याबस्था गरेको हो ।
नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।
महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको हो।
यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन । प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनु अगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ ।