गुल्मी । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका– ४ ओक्याङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
आज सोमबार बिहान चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो (डबल क्याप गाडी) आफै अनियन्त्रित भई सडकदेखि ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा आठ सवार रहेका थिए ।
जीपमा सवार मध्ये सत्यवती गाउँपालिका–८ भार्से की ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
घाइते सात जना मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा पठाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा २९ वर्षीय केशव राना, ३७ वर्षीया रीता छन्तेल, चार वर्षीया ईरिसा छन्तेल, २६ वर्षीय अजय नेपाली, ७५ वर्षीय टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल, २३ वर्षीय मेख बराल घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धानका लागि पूर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनाको टोली खटिएको छ।