काठमाडौ । संघीय संसद अन्तर्गतका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक आज सोमबार पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा पनि नयाँ बजेटको बिषयमा नै छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने कार्यसूची छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
यसैगरी, राष्ट्रियसभाको बैठक मध्याह्न १२ : १५ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा पनि आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ ।
संसदमा हिजोदेखि नै बजेटमाथी छलफल सुरु भएको छ । छलफलमा भाग लिँदै सत्ता साझेदार दलका सांसदहरुले नै प्रश्न उठाएका छन् । उनीहरूले बजेट कार्यान्वयनको पाटो र निर्माणको प्रक्रियामाथि नै प्रश्न उठाएका हुन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमाले, रास्वपा र एकीकृत समाजवादी लगायत दलले बजेटको स्रोत, कार्यान्वयनको आधार र आन्तरिक ऋण तथा कर नीतिमाथि प्रश्न उठाएका हुन् ।